चौदण्डीगढी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटनका लागि आउनु भएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कालाई चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा माघ २२ गते कालो झण्डा देखाएको आरोपमा ६ जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
मन्त्री सवार रहेको अवस्थामा कालो झण्डा देखाएको आरोपमा नेकपा एमाले चौदण्डीगढी नगर सचिव, चौदण्डीगढी नगरपालिका–७ का ३४ वर्षीय विकास बञ्जरा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्वियू) जिल्ला अध्यक्ष, त्रियुगा नगरपालिका–१० का २५ वर्षीय भुवन दाहाल, चौदण्डीगढी नगरपालिका–४ का ३१ वर्षीय महेश राई, २९ वर्षीय निराजन बञ्जरा, चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय मिलन रिजाल र ५२ वर्षीय अर्जुन कोइरालालाई मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यलय बेल्टारका इन्स्पेक्टर छिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
नेता गिरफ्तारको विषयलाई लिएर नेकपा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले लोकतन्त्रमा कालो झन्डा देखाएकै भरमा गिरफ्तार गर्नु राजनीतिक अधिरकामाथिको हस्तक्षेप भएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बेलका नगरपालिका मेयर दुर्गा थापा, एमाले नेताहरू कुशलबाबु बस्नेतलगायतले गिरफ्तारीमा परेकाहरूको निशर्त रिहाइको माग गरेका छन् ।
समयमै स्थानीय तहको चुनाव घोषणा गर्न, महङ्गी र कालाबजारी नियन्त्रणको माग राख्दै विद्यार्थी नेताहरूले मन्त्री खड्कालाई कालो झण्डा देखाएको एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरेको भनाइ छ ।
