INSEC Online

📅 २०८३ जेष्ठ २१

परराष्ट्र मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा तीन जना गिरफ्तार

राजनीतिक भेटघाटका लागि गृह जिल्ला उदयपुर आइपुग्नु भएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कालाई त्रियुगा नगरपालिका–१० गाईघाटमा माघ २० गते कालो झण्डा देखाएको आरोपमा प्रहरीले तीन जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ ।

प्रहरीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्वियू) जिल्ला अध्यक्ष त्रियुगा नगरपालिका–१० का २५ वर्षीय भुवन दाहाल, त्रियुगा नगरपालिका–४ बगाहका २६ वर्षीय अश्विन कार्की र कटारी नगरपालिका–३ का २९ वर्षीय मनोज तामाङ्गलाई झण्डा देखाउने क्रममा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित तीनै जनालाई त्रियुगा नगरपालिका–१० गाइघाटबाट अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी गौतमले बताउनु भयो ।

विद्यार्थी नेता गिरफ्तारीमा परेपछि अनेरास्वियूका जिल्ला सहसंयोजक प्रवेश ठकुरी, युवा नेता सुरेन्द्र बस्नेतलगायतले रिहाइको माग गरेका छन् ।

गिरफ्तारीमा परेकाहरूको रिहाइका लागि प्रहरीसँग कुराकानी भइ रहेको अनेरास्वियू जिल्ला सहसंयोजक प्रवेश ठकुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

समयमै स्थानीय तहको चुनाब घोषणा गर्न, महङ्गी र कालाबजारी नियन्त्रणको माग राख्दै विद्यार्थी नेताहरूले मन्त्री खड्कालाई कालो झन्डा देखाएका छन् ।

अन्य

भिडियो