INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपितलाई ११ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भपतन गराएको कसुरमा जिल्ला अदालत म्याग्दीले त्रिवेणी गाउँपालिका–१, सल्यानका २५ वर्षीय जनकबहादुर पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश तेजनारायण पौडेलको ०७८ माघ १७ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई ११ वर्ष कैद, ३० हजार रुपिया जरिबाना र ३० हजार क्षतिपुर्ती भराउने फैसला सुनाएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले २०७६ साउन २९ गते बलात्कार गरी माघ २ गते पोखरामा लगेर जबरजस्ती गर्भपतन गराएको भन्दै पीडितले माघ ७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।

त्यस्तै नवलपरासी रामग्राम–४, घर भई पोखरा महानगरपालिका–८, स्थित उपचार स्वास्थ्य क्लिनीक सञ्चालन गरिरहेका ५१ वर्षीय डाक्टर राजेन्द्रकुमार चौधरी र गर्भपतन गराउँदा साँक्षी बस्ने बालिकाको ६६ वर्षीय बुबालाई जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको इजालसले २०७८ पुस २६ गते १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तिराउने फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको अनुसन्धान पश्चात २०७६ फागुन ४ गते जिल्ला सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेकोमा जिल्ला अदालतले फागुन ६ गते आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने आरोपित डाक्टर र बुबालाई धरौटी माग गर्ने आदेश दिएको थियो ।

अन्य

भिडियो