कनकासुन्दरी गाउँपालिका –१ रियाकी ३२ वर्षीया कमला बुढा (कठायत) नागरिकता नहुँदा सामाजिक सेवाबाट बञ्चित हुनुुभएको छ ।
जन्म घर पातारासी गाउँपालिका–७ पटमारा भएको बताउँदै उहाँले कनकासुन्दरी गाउँपालिका –१ रियागाउँका ३५ वर्षीय पति टेक बुढाले नागरिकता र विवाह दर्ता नबनाइदिएको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो–‘अहिले १६ वर्षकी छोरी र १२ वर्षको छोरा छन् तर, अहिलेसम्म पतिले नागरिकता र विवाह दर्ता नगरी दिएपछि सार्वजनिक सेवाबाट बञ्चित भएका छौं’ ।
नागरिकता नहुँदा अहिलेसम्म मतदाता नामावली बनाउन नपाएको उहाँको भनाइ छ । यस अघिका निर्वाचनमासमेत मतदान गर्नबाट बञ्चित भएको उहाँले सुनाउनु भयो ।
‘नागरिकता नहुँदा बैंक खाता पनि खोल्न पाइएको छैन्, मजदुरी गरी आर्जन गरेको रकम पनि आफन्तलाई राख्न दिनु परेको छ’ उहाँले थप्नुभयो । नागरिकताको अभावमा कोभिड बिरूद्धको खोप पनि लगाउन नपाएको कमलाले बताउनु भयो ।
खोप लगाउन नपाएपछि नेपाल पत्रकार महासंघ जुम्लाको सहयोगमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि माघ १३ गते खोप लगाउन पाइएको उहाँको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले पीडित कमलाको पतिबाटै नागरिकता बनाउन पहल गरिरहेको जानकारी गराउनु भयो ।
‘पतिबाट सम्भव नभएपछि माइती पक्षबाट भएपनि नागरिकता बनाउने छौँ’ प्रजिअ रिजालले भन्नु भयो ।