INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको राससले जनाएको छ ।

स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । झन्डै दुई दशकपछि हुन लागेको आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारका रुपमा महिला सहभागिता ४० प्रतिशत हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम अघि सारेको छ ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदाता शिक्षित र सुसूचित हुनुपर्नेमा सचेत रहँदै आयोगले आज ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ ।

प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकैपटक सुरु भएको छ । मतदाता शिक्षामा महिला, दलित, सीमान्तकृत समूहबाट हुने उम्मेदवारी छनोट, उम्मेदवारी दर्तादेखि मतदानसम्मका कार्यका विषय समावेश छन् । प्रशिक्षकले ७ सय ४४ स्थानीय तहमा रहने अनुमानित २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् ।

जिल्लास्तरमा प्रशिक्षित मतदाता शिक्षा कार्यकर्ताले एक महिनासम्म मतदाताको घरघरमा गएर मतदाता शिक्षा प्रदान गर्ने निर्वाचन आयुक्त इला शर्माले जानकारी दिइन् ।

मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्न केन्द्रमा ३० जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिइसकिएको छ । तीनसय ५० जनाले जिल्ला जिल्लामा गएर २१ हजार जना मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएपछि उनीहरूलाई यही चैत २८ देखि एक महिनासम्म घरघरमा खटाइनेछ ।

जिल्ला निर्वाचन अधिकारी, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक (महिला), जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरिका ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिइएको छ ।

ललितपुरको गोदावरीमा आयोजित उक्त ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले संविधान जारी भएपछि नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनमा मतदाताका घरघरमा मतदाता शिक्षा कार्यकर्ता पुर्‍याउने बताए ।

निर्वाचनमा समावेशीताको कोटा भएको तथा निर्वाचनमा भाग लिने दल र निर्वाचन चिह्न एवम् मतदान प्रक्रियाबारे मतदातालाई शिक्षित तुल्याउन आयोग लागेको हो । गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिलासहित दुई महिला वडा सदस्य हुनेछन् ।

आयोगले तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाउने र यसका लागि ‘एक मतदान केन्द्र, एक मतदाता शिक्षा कार्यकर्ता’का लागि २१ हजार कर्मचारी परिचालन गर्नेछ । साथै, आमसञ्चार माध्यम एवम् सामाजिक सञ्जालबाट पनि निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गरिनेछ ।

मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु गरेको आयोगले नेपालमा बोलिने राष्ट्रभाषामध्ये १७ राष्ट्रभाषामा समेत मतदाता शिक्षा सामग्री तयारी गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।

अन्य

भिडियो