१६ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध सप्तरी प्रहरीले माघ ६ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरेको छ ।
पीडितका बुबाले दिएको उजुरी र पीडितको प्रारम्भिक वयानपछि उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनु भयो ।
जुम्ल्याहा दिदीबहिनी सुतेको कोठाको ढोका माथिको भेण्टिलेटर तोडेर भित्र प्रवेश गरेका आरोपितले माघ २ गते राति दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।
पीडितहरूले होहल्ला गरेपछि गाउँलेहरू भेला भई आरोपितलाई कुटपिट समेत गरेको स्थानीयवासीले बताए । स्थानीयवासीले नियन्त्रणमा लिएर आरोपितलाई प्रहरीसमक्ष बुझाएका हुन् ।
पीडितले हात समातेर दुर्व्यवहार गरेको वयान दिएकाले हाल स्वास्थ्य परीक्षण नगरिएको इन्स्पेक्टर साहले बताउनु भयो ।