११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिरीजङ्गा गाउँपालिका –६ पेदाङका ६४ वर्षीय पानी माइला भनिने धनबहादुर लिम्बूलाई १९ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कदै सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख ५० हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार १ गते गिरफ्तार गरी जिल्ला अदालतमा असार २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको ०७७ असार २५ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ असार १ गते गरिएको थियो ।