सुनछहरी गाउँपालिका–४ को फुलवारी टोलमा रहेको सिद्ध प्राथमिक विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ ।
विद्यालयमा खानेपानीको अभावका कारण विद्यार्थीहरूले घरैबाट पानिको बोटल बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको कक्षा ५ मा अध्ययनरत प्रकाश घर्ती मगरले बताउनु भयो ।
विद्यालय आएका बेलामा तिर्खा लाग्दा आधा घण्टा टाढा हिँडेर मात्रै पानी पाउने गरेको कक्षा ५ मा अध्ययनरत सङ्गीता घर्तीले बताउनु भयो ।
पानी अभावका कारण दिसापिसाबका लागि जङ्गल तथा खुल्ला ठाउँमा जानुपर्ने र हात सफा गर्ने पानीसमेत नहुँदा रोगको जोखिम रहेको कक्षा ४ मा अध्यनरत टिकाराम घर्तीले बताउनु भयो ।
स्थानीय सरकारको सहयोगमा चर्पी बनाइएको भएपनि पानी नहुँदा चर्पी प्रयोगविहीन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण घर्ती मगरले बताउनु भयो ।
विद्यालयमा पानीको अभाव हुँदा बालबालिकालाई निकै समस्या हुने गरेको अक्षयक्ष घर्तीको भनाइ रहेको छ ।
दुई वर्ष पहिले नजिकैको गाउँबाट खानेपानीको पाइप विद्यालयसम्म बिच्छ्याइएको भएपनि हिउँदको समयमा पानी सुकेर सानो हुने हुँदा विद्यालयसम्म नआइपुग्ने अध्यक्ष घर्तीले बताउनु भयो ।
विद्यालयमा पानी नआएपछि घण्टौँ टाढाबाट बोकेर विद्यार्थीेलाई खाजा पकाउनु परेको विद्यालयका कार्यालय सहयोगी जालपा घर्ती मगरले बताउनु भयो ।
विद्यालयमा खानेपानीको अभाव भएपछि चर्पीसमेत प्रयोग गर्न नसकेको विद्यालयका प्रधानाध्यापक लिलबहादुर घर्तीले बताउनु भयो ।
नजिकैको गाउँ घोगा र झिञ्जामा प्रदेश सरकारको योजना परेको र त्यहि योजानाबाट विद्यालयमा पानीको व्यवस्थापन गरिने सुनछहरी गाउँपालिका–४ का अध्यक्ष खड्कबहादुर घर्तीले बताउनु भयो ।