१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भारत दरभङ्गा बहादुर पञ्चायत ठेकुली स्थायी घर भई चौदण्डी नपा-७ मा बस्दै आएका २५ वर्षीय अमरनाथ लालदेवलाई जिल्ला अदालतले चैत १० गते ५ वर्षकैद र २० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले बलात्कार गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको अदालतले जनाएको छ ।
पीडित बालिकालाई आरोपित अमरनाथले गत साउन ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी दिए लगत्तै गिरफ्तार गरिएका आरोपितलाई जिल्ला अदालतले भदौ २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १ गते जिल्ला अस्पतालमा गरिएको थियो ।