INSEC Online

📅 २०८३ जेष्ठ २१

जनमत पार्टीको किसान आन्दोलनमा रबरको गोली प्रहार, पाँच जना घाइते

गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा जनमत पार्टीले किसान आन्दोलनको नाममा अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खोलाउन पुस १८ गते प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् ।

प्रहरीको गोली लागेर शहिदनगर नगरपालिका–१ कुम्भकरण क २५ वर्षीय जनमत विद्यार्थी सङ्घका धनुषा जिल्ला अध्यक्ष विजयकुमार यादव घाइते हुनु भएको छ । घाइते विजयको दाहिने पैतालामा गोलीको छर्रा लागेको छ ।

कमला नगरपालिका–८ का जनमत दलित सङ्घका धनुषा जिल्ला उपाध्यक्ष ३६ वर्षीय नथुन विराजी यादवको कोखामा चोट लागेको छ ।

विदेह नगरपालिका–५ मुरिवाका ५१ वर्षीय जनमत दलित सङ्घका धनुषा जिल्ला उपाध्यक्ष रामदयाल मुखियाको दाहिने जाँघमा चोट लागेको छ ।

जनकनन्दनी गाउँपालिका–४ खजुरी चन्हाका जनमत युवा सङ्घ धनुषा जिल्ला सचिव २२ वर्षीय बैद्यनाथ साह घाइते हुनुभएको छ । उहाँको टाउको र दाहिने काँघमा चोट लागेको छ ।

सवैला नगरपालिका–१ मुसहरी टोल स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका–४ पिडरियामाई स्थान बस्ने जनमत एनआरएन सङ्घका भूपु उपाध्यक्ष इन्जिनियर ४६ वर्षीय सञ्जय साह घाइते हुनु भएको छ । उहाँको टाउको र गोडामा चोट लागेको छ ।

घाइते पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घाइते विजयकुमार यादवले ३० जना जतिको सङ्ख्यामा शान्तिपूर्ण आन्दोलन गरिरहँदा दिउँसो करिब एक घण्टा अवरुद्ध गरेपछि प्रहरीको टोलीले राजमार्ग खुलाउन दबाब दिँदा आफूहरूले नमानेपछि एक्कासी प्रहरीले टियर ग्याँस र रवरको गोली प्रहार गरेको आरोप लगाउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग सुचारु गराउन पटकपटक आग्रह गर्दा पनि नमानेर अटेर गरेपछि ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्याँस प्रहार गरेको बताउनु भयो ।

जनमत पार्टीले किसानहरूको पक्षमा विभिन्न माग राखी पुस १५ गतेदेखि प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला अनिश्चितकालका लागि बन्दको घोषणा गरेको थियो ।

अन्य

भिडियो