रास्कोट नपा-१ की ३७ वर्षीया एकल महिला सुमित्रा वमलाई चैत ७ गते राति ३२ वर्षीय देवर गणेशबहादुर वमले कुटपिट गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ ।
मदिरा सेवन गरी घर आएका देवरले ‘विधुवा’ घरमा बस्न हुँदैन भन्दै कुटपिट गरेको पीडित महिलाले बताइन् । देवरको कुटपिटबाट पीडित महिलाको टाउको र अनुहारमा चोट लागेकोले स्थानीय रास्कोट मेडिकलमा उपचार भइरहेको पीडितका आफन्त धर्मराज शाहीले बताए ।
देवरविरुद्ध घरेलु हिंसाविरुद्धको कसुर सजाय ऐन अन्तर्गत कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय रास्कोटमा चैत ८ गते उजुरी आएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी योगेन्द्र खड्काले बताए । आरोपित वम फरार रहेको र प्रहरीले खोजी गरिरहेको डिएसपी खड्काले बताए ।