INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ बिरूद्धको मोर्डना खोप अभियान सञ्चालन हुन सकेन

५७ जिल्लामा ०७८ पुस ४ गतेबाट सुरू भइरहेको मोर्डना खोप अभियान हुम्लामा भने सुरू हुन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला बाहिरबाट आउने खोप ढिलो आइपुगेका कारण निर्धारित समयमा अभियान सञ्चालन गर्न नसकेको जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बालबालिकाका लागि कोभिड बिरूद्धको मोडर्ना खोप अभियान पुस ४ गतेबाट सुरू गर्नुपर्ने योजना भएपनि पुस ३ गते मात्र जिल्लामा खोप आइ पुगेको हुँदा सबै गाउँपालिकामा पठाउन नसकिएको बताउनुभयो ।

‘६ सय ३७ भाइल मात्र आएको छ । यसबाट ६ हजार ३ सय ७० बालबालिकाले भ्याक्सिन लगाउन पाउने छन्’ उहाँले भन्नुभयो ।

खार्पुनाथ गाउँपालिकालाई ७ सय २०, ताँजाकोट गाउँपालिकामा ८ सय ३० डोज र अदानचुली गाउँपालिकालाई १ हजार ८० डोज उपलब्ध गराइएको छ भने अन्य गाउँपालिकालाई पनि खोप वितरण भइरहेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार मोडर्ना खोप लगाउनु पर्ने १२ देखि १७ वर्ष उमेरका बालबालिका हुम्लामा ९ हजार ६ सय २१ जना रहेको र खोप अभियान पुस १४ गतेसम्म चल्ने छ ।

पहिलो डोज खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो डोज लगाउने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।

अन्य

भिडियो