INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुको नियमित चेकजाँच तथा स्वास्थ्य उपचारमा समस्या

जिल्ला कारागार, कैलालीमा दुई महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहदा कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच तथा उपचारमा समस्या भएको छ ।

चिसो बढ्दै गएसँगै दैनिक रुपमा कैदीबन्दीहरु बिरामी पर्दै गएका भएपनि जिल्ला कारागारमा दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच तथा उपचारमा समस्या उत्पन्न भएको जेलर नरबहादुर थापाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘चिसो बढ्दै गएपछि कैदीबन्दीहरु दैनिक बिरामी पर्न थालेका छन् । कारागारमा स्वास्थ्यकर्मी रिक्त रहदा हप्ताको दुई दिन सेती प्रादेशिक अस्पतालबाट दुई जना स्वास्थ्यकर्मीलाई चेकजाँच तथा उपचारका लागि पठाउने गरिएको छ । स्वास्थ्यकर्मीको अभावमा सामान्य बिरामीलाई पनि चेकजाँचका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याउनु पर्ने बाध्यता रहेको छ ।’

कारागारमा एक जना अहेवको दरबन्दी  रहेकोमा सिनिएर अहेव सुनैना श्रेष्ठको दुई महिना अगाडी काठमाडौँ सरुवा भएदेखि पदपुर्ति हुन नसक्दा कैदीबन्दीहरुको स्वास्थ्य उपचारमा समस्या भएको जिल्ला कारागारका सूचना अधिकारी बिरेन्द्र बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो—‘सिनिएर अहेव हुँदा दैनिक १० / १० जना कैदीबन्दी गरी नियमित स्वास्थ्य उपचार हुन्थ्यो । दिर्घरोगी तथा कडा खालका मानसिक रोगीहरुलाई अस्पताल रेफर गर्न सजिलो हुन्थ्यो । अहिले हप्ताको दुई दिनमा  दिर्घरोगी तथा कडा खालका मानसिक बिरामीहरुको मात्र चेकजाँच  हुन्छ । सामान्य बिरामी र क्षयरोग भएका बिरामीहरुको नियमित चोकजाँच हुन सकेको छैन् ।’

कारागारमा २० जना दिर्घरोगीमध्ये एचआइभी भएका एक जना, क्षयरोग भएका तीन जना, सुगरका बिरामी १० जना र मानसिक रोगी ६ जना रहेका र उहाँहरुले नियकित औषधि खाने गरेको स्वास्थ्यकर्मी शर्मिला गुरुङ्ले बताउनु भयो ।

१ सय ५० जना क्षमता रहेको जिल्ला कारागार, कैलालीमा ५ सय २६ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ३६ जना महिला, ४ सय ९० जना पुरुष र तीन जना आश्रीत बालिका हरेका छन् ।

कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा पालैपालो सुत्नु पर्ने र शौचालयको लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको चौकीदार बद्दा रानाले बताउनु भयो ।

अन्य

भिडियो