१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले पैञ्यु गाउँपालिका–७ भोर्लेका २६ वर्षीय मनोज विकलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश बलराम त्रिपाठीको मङ्सिर २६ गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ पीडित सहायता कोषमा जम्मा गराउने फैसला गरेको जिल्ला अदालत पर्वतका श्रेष्तेदार रामबहादुर थापाले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितले ०७६ पुस २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७६ माघ १ गते इलाका प्रहरी कार्यालय हुवासमा उजुरी दिनुभएकाे थियाे ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षक अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पताल पर्वतमा भएकाे थियाे ।
आरोपित जिल्ला अदालतको आदेशले ०७६ माघ २७ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।