१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोटखोला गाँउपालिका ‒४ का ३९ वर्षीय जिङक्प भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको मङ्सिर २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट २ लाख रुपियाँ जरिबानासँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
अदालततको सोही आदेशले कसुरदार भोटेलाई २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको सूचना अधिकारी प्रसाईले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ साउन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई सोहीदिन गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ भदौ १ गते गरिएको थियो ।