INSEC Online

📅 २०८३ जेष्ठ २१

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम नगरेको आरोपसहित द्वन्द्वपीडित धर्नामा

सत्य निरूपण तथा मेलमिलाप आयोगले काम गर्न नसकेको भन्दै द्वन्द्वपीडितहरूले बबरमहलस्थित आयोगको कार्यालयमा चैत २ गते धर्ना दिएका छन् ।

राष्ट्रिय राजनीतिको प्रभाव, राजनीतिक मतभेदका कारण पदाधिकारीहरूबिचको मतभेद बढेको र पदाधिकारीहरूको लापारबाहीका कारण द्वन्द्वपीडितको अधिकारमाथि आयोगले खेलवाड गरेको आरोप लगाउँदै उनीहरूले धर्ना दिएको बताएका छन् ।

उनीहरूले समयसिमा भित्र काम गर्न नसकेको आयोगको म्याद थप के-का लागि गरिएको भन्ने प्रश्न गर्दै काम गर्न नसक्ने पदाधिकारीहरूले राजीनामा दिनुपर्ने माग गरे ।

आयोगका अध्यक्ष सुर्यकिरण गुरूङ महिना दिन भन्दा लामो विदामा बसेकाले आयोगका सम्पूर्ण कामकारबाही प्रभावित भएको आरोप लगाउँदै तत्काल राजीनामा दिएर काम गर्नेलाई बोटो खोल्न द्वन्द्वपीडितहरूले माग गरे ।

धर्नामा बोल्दै द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले ‘दुई वर्षमा आयोगले के काम गर्‍यो ? आयोगका सदस्यबिच टकराव किन ? पीडितको सत्य, न्याय र परिपूरणको अधिकारमाथि चरम खेलवाड किन ?’ भन्ने प्रश्न गर्दै आयोगले हालसम्म हासिल गरेको उपलब्धि सार्वजानिक गर्न माग गरे । उनले आयोगको कामकारबाही प्रभावकारी र पीडितमैत्री नभएको भन्दै यस्तै अन्यौलको स्थिति रहिरहे आयोगमा तालाबन्दी गरिने चेतावनी दिए ।

आयोगकी सदस्य एवम् प्रवक्ता माधवी भट्टले आयोग अध्यक्ष गुरूङको अनुपस्थितिको कारण आयोगका कामकारबाही प्रभावित भएको बताइन् । “आयोगमा हामी चार जना बहुमत सदस्य छौँ । मैले पटकपटक बैठक आह्वानका लागि कार्यालय सचिवलाई पत्र बुझाएको छु । तर, किन बैठक बोलाइएको छैन ?”-उनले प्रश्न गरिन् ।

सदस्य भट्टले पीडितहरूकै सङ्घर्षका कारण आयोग गठन भएको र यसको उद्देश्यनै पीडितलाई न्याय प्रदान गर्नु रहेको भन्दै पीडितहरूको भावानालाई आयोगले गम्भीरताको साथ लिएर अघि बढ्नुपर्ने बताइन् ।

धर्ना कार्यक्रमको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम, हुरोन लगायतका सङ्घसस्थाका प्रतिनिधिहरूले अनुगमन गरेका थिए ।

.

.

.

अन्य

भिडियो