लैङ्गिक हिंसाको अन्त्यका लागि समाजिक सोच परिवर्तन गर्नु पर्नेमा जोड दिइएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका मूल आयोजक र इन्सेकलगायत सङ्घ संस्थाको आयोजनामा मङ्सिर १७ गते आयोजित लैङ्गिक हिंसाको अवस्था, चुनौती तथा तथ्याङ्क विश्लेषण एंव भावि कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दले उक्त कुरामा जोड दिनु भएको हो ।

बागचन्दले लैङ्गिक हिंसा विरूद्ध सबैले आ–आफ्नो ठाउँबाट जुट्नु पर्ने बताउँदै लैङ्गिक हिंसाको अन्त्य गर्नको लागि सामाजिक सोचलाई परिवर्तन गर्न आवश्यक भएकोले ठुलो र सानो भन्ने विभेद हटाएर व्यवहारमा समानता ल्याउन सके हिंसाको अन्त्य गर्न सकिने बताउनु भयो ।

राट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावलले नागरिकले जिम्मेवारी र जवाफदेहीता बुझ्न आवश्यक रहेको बताउनु भयो ।
नेपालगञ्ज उपमनपाका प्रशासकीय अधिकृत गुरूदत्त सुवेदीले नागरिकहरुले राज्यको निकायलाई शंकाको दृष्टीकोणले हेर्ने गरेका बताउदै राज्यलाई विश्वास गरेर काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयकी अधिवक्ता निशाकुसुम पौडेलले नागरिकलाई जुन सुकै किसिमको हिंसा भए त्यसको न्यायको लागि सरकारी वकिल कार्यालयले वकालत गर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर खेमबहादुर घर्ती मगरले अपराधको विषयलाई मानव अधिकारसँग जोड्न नहुने बताउँदै मानव अधिकारकर्मीहरूले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भयो ।
नेपालगञ्ज उपमनपा सामाजिक विकास महाशाखाकी प्रमुख शोभा शाहले लैङ्गिक हिंसा विरूद्धको दिवसका बारेमा जानकारी दिदै यस्ता हिंसा रोकथाम गर्नको लागि सबै सङ्घ सस्थासँग समन्वय गरेर काम गरेको बताउनु भयो ।
इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले लैङ्गिक हिंसाको अन्त्य घरबाटै गर्नु पर्ने बताउदै सबै एकजुट भएर समुदायमा चेतनाका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।
अधिवत्ता बसन्त गौतमले लैङ्गिक हिंसाको अवस्था,चुनौती र समाधानका उपायहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
