INSEC Online

📅 २०८३ जेष्ठ २१

मानसिक स्वास्थ्य पीडित बालिका दाम्लोमा

सल्यानटार गाविस-७ बोक्सो गाउँकी ६ वर्षीया बन्दना कुमाललाई डेढ वर्षदेखि घरमा बाँधिएरै  राखिएको छ । एउटा सानो घर । पिँढीको एउटा छेउमा एउटा सानो फल्याक । सोही छेउमा दुई हात लामो कपडाको डोरीले गाँठो पारेर बाँधिएको छ । एउटा सानो फल्याकमा बाँधिएर बस्नु र डोरीले भेटिएजति दौडिनु उनको दिनचर्या हो । ‘कोही नयाँ मानिस आयो भने उसलाई एकोहोरो हेरेर बस्ने कसैले केही खान दियो भने समातेर मुखमा हालिहाल्ने बानी छ । जब बेलुकीपख डोरी खोलिन्छ अनि आमा बाबुलाई आपत पर्छ ।’-परिवारले जनाएको छ ।

‘०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प आउँदा नातिनी घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा पुगेकी रहिछ ।’-बन्दनाकी हजुरआमा धनकुमारी कुमालले त्यसदिनको कुरा सुनाउँदै भनिन्-‘ठूलो भूइचालो आयो, भुइँ हल्लियो । वरीपरिका घर लडे । हतार हतार घर आइपुगेको आफ्नो घर पनि लडेछ । भत्केको घर अगाडि हालिएको त्रिपाल समातेर लामो समय बस्दा नातीनिको यस्तो अवस्था आयो र उनको मानसिक स्थिति बिग्रिएको हो ।’

भूकम्पअघि उनि विद्यालय जान्थिन् । बोल्ने गर्थिन् । विद्यालयमा शिक्षकहरूले पढाएको कुरा घरमा आएर पढ्ने बानी थियो । जब भूकम्पपछि बन्दनाको बोली बन्द भयो कुमाल परिवारमा दुःखको दिन सुरु भयो । अहिले उनि भोकाएको वा दिशापिसाव आएको केही बताउन नसक्ने अवस्थामा छिन् । ‘खानेबेला भयो होला भनेर खुवाउनु पर्छ । दिशापिसाव गरेकोबारे आमा बुबाले थाहा पाएर मात्र बाहिर लाने गर्छन् ।’-धनकुमारीले भनिन् ।

पढाइ सुरु गरिसकेकी बालिका अहिले सुस्त अवस्थामा पुगेपछि परिवारमा चिन्ता थपिएको छ । घर परिवार बिर्सेर एकोहोरो हिड्ने अवस्थामा रहेकी छिन् । त्यतिकै छाड्दा हराउने, लड्ने तथा दुर्घटनामा पर्ने डरले बाँधेर राख्नु परेको बन्दनाकी आमा कमला कुमालले बताइन् । आर्थिक अवस्था कमजोर भएकोले उनीहरूले बालिकाको उपचारमा ठूलो खर्च गरेर पनि उपचार गराउन नसकेपछि देवी देवताको मन्दिरमा लगेर पूजा गर्ने गरेको उनको भनाइ छ । अब आफ्नो अवस्थाले उपचार गराउनै नसक्नेगरी ऋण लागिसकेको कमलाले गुनासो गरिन् ।

अन्य

भिडियो