भङ्गहा नगरपालिका–२, बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले भङ्गहा नगरपालिका–५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडीयाका ४२ वर्षीय मनोज यादवलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मङसिर २ गते पत्रकार सम्मेलन गरी बलात्कारपछि हत्या गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरेको जनाएको छ ।
गत असोज १३ गते झण्डा मेला हेर्न लगेर आरोपितहरूले अमृतामाथि रातभरि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्यले बताउनुभयो ।
‘मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे लगे । गाउँ नजिकैको चौरीमा पुर्याएर दुवै जनाले पालैपालो बलात्कार गरे ।’–एसपी अचार्यले घटनाक्रमबारे भन्नुभयो–‘सामूहिक बलात्कारबाट बेहोस् भएकी अमृतालाई भोलिपल्ट बिहान ३ बजे घर नजिकै सडकमा छाडेर फरार भए ।’
घाइते अमृतालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएकोमा असोज १४ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम असोज १४ गते जनकपुर प्रादेशिक अस्पतालमा गरिएको छ ।