INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयहरु दुषित पानी पिउन बाध्य

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि के.आइ.सिह गाउँपालिका–३ बासुदेबीका स्थानीयहरु तीन सातादेखि दुषित पानी पिउन बाध्य भएका छन् ।

सुदूरपश्चिम प्रदेश लगायत देशभर असोज ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण भत्किएको के.आइ.सिह.गाउँपालिका–३ बासुदेबी खानेपानीको मुहान तीन साता बितिसक्दा पनि मर्मत नगरिएका कारण स्थानीयहरु दुषित पानी पिउन बाध्य भएका हुन् ।

photo20211108doti (1)

भत्किएको खानेपानीका ट्याङ्की, पाइप, धारा र हेन्डपाइपहरु मर्मत हुन नसकेपछि तीन सातादेखि आफूहरुले खोला र नाउलाको दुषित पानी पिउदै आएको स्थानीय रबिन्द्र बि.क.ले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘दुषित पानी पिउदा झाडापखाला लगायतका सरुवा रोगहरु फैलिन थालेका छन् । गाउँबस्तीमा त्रास बढेको छ । स्थानीय सरकारले तीन साता बितिसक्दा पनि मर्मतको कार्य सञ्चालन गर्न सकेको छैन् ।’

photo20211108doti (2)

बाढीपीडित क्षेत्रको अनुगमन तथा अवलोकन गर्न आएका जनप्रतिनिधिहरुलाई आफूहरुले खानेपानी समस्या तत्काल सम्बोधनका लागि पहल गर्न अनुरोध गरेको भएपनि तीन साता बितिसक्दा समेत सुनवाइ हुन नसकेको स्थानीय महेन्द्र कुँवरले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘तीन तहका सरकार भएपनि आफूहरुले तीन सातादेखि दुषित पानी पिउनु परेको छ । दुषिद पानीका कारण बालबच्चा, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतिहरु बिरामी पर्न थालेका छन् ।’

३ सय घरदुरी रहेको के.आइ. सिह.गाउँपालिका–३ झिगाबस्ती बासुदेबीमा शुद्ध खानेपानीको अभाव भएसँगै  ज्वरो, रुघाखोकी र झाडापखालाका बिरामीहरुको स्वास्थ चौकीमा चाप बढने गरेको बासुदेबी स्वास्थ चौकीका इन्चार्ज अनिल बि.क.ले बताउनु भयो ।

photo20211108doti (3)

अहिलेसम्म २ सय ६० जनाले स्वास्थ्य सेवा लिएकोमा ७५ जना रुघाखोकी र झाडापखालाका बिमारीहरु रहेको उहाँले बताउनु भयो ।

खानेपानीको मुहानमा रहेको ट्याङ्की र पाइप बाढीपहिरोले बगाएका कारण मर्मत गर्न केही समय लाग्ने के.आइ.सिह गाउँपालिका–३ का वडाध्यक्ष रतन कुँवरले बताउनु भयो ।

जति सक्दो चाडो दक्ष जनशक्ति परिचालन गरी स्थानीयहरुको पनि सहयोग लिएर छिटो भन्दा छिटो शुद्ध खानेपानी गाउँमा पुर्‍याउन पहल भइरहेको उहाँले बताउनु भयो ।

photo20211108doti (4)

photo20211108doti (5)

अन्य

भिडियो