INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षाले धान खेती नष्ट, भोकमरी हुने चिन्ता

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार चार दिनदेखि परेको अविरल वर्षाले जुम्लामा पाइने कालीमार्सी धानमा क्षति पुर्‍याएको छ ।

यस वर्ष मार्सी धानको उत्पादन केही वृद्धि हुने अनुमान गरिएतापनि असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण भण्डारण गर्न नपाउँदै खेतमा सुकाएर राखिएको धानखेती डुबानमा पारेपछि उत्पादन घट्ने चिन्ता छाएको छ ।

चन्दननाथ नगरपालिका–९ श्रीढुस्काका किसान लक्ष्मी हमालका अनुसार दशैँलगत्तै धानखेती भित्र्याउन थालिएकाले अधिकांश किसानले धान काटेर खेतमै राखेका छन्, केहीले भने आधा चुटेर खेतमै पालले छोपेर राखेका छन् ।

अहिले यी सबै धान पानीमा डुबेको कृषि प्राविधिक लछिराम महतले बताउनुभयो ।

२९ सय हेक्टरमा धान खेती गरिने जुम्लामा यस वर्ष १४ सय हेक्टरमा मार्सी र १५ सय हेक्टरमा उन्नत जातको धान लगाइएको छ । करिब पाँच वर्षयता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी तथ्याङ्क छ ।

अन्य रैथाने बालीको उत्पादन घट्दै गए पनि कालीमार्सीको प्रचार प्रसारको कारण उत्पादन बढ्दै गएको थियो । कृषि विकास कार्यालय जुम्लाका अनुसार गत वर्ष करिब १२ हजार ३ सय आठ मेट्रिक टन रैथाने बाली उत्पादन हुँदा कालीमार्सी धान ६ हजार ६ सय ७० मेट्रिक टन उत्पादन भएको थियो ।

Photo 20211021 Jumla 1

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले अहिले सम्मको  अवस्था हेर्दा २९ सय हेक्टर धान फल्ने क्षेत्र मध्ये १३ हेक्टर मार्सीका खेत बगेका र ५ हेक्टर खेत डुवेका छन्, भने अन्य सबै धान भिजेका छन् । जिल्लाको ९ सय हेक्टर धान काट्न बाँकी रहेको उहाँले बताउनुभयो ।

धेरै मात्रामा रातिमार्सी धान हुने सिञ्जा क्षेत्रमा समेत धान खेती पानीको डुवानमा परेर नोक्सान भएको देवकोटाले बताउनुभयो ।  उहाँले भन्नुभयो ‘धान खेतीमा मात्रै ६ करोड क्षति भएको अनुमान गरिएको छ ।’

खाद्य अधिकार सञ्जाल जुम्लाका सदस्य किशोर न्यौपानेले भित्र्याउन थालिएको धान खेतीमा क्षति हुँदा नागरिकलाई मर्माहत भएको र यसले भोकमरीको सम्भावना देखिएको बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बेमौसममा आएको भारी वर्षाले धान खेतीमा पुगेको असरको एकिन तथ्याङ्क निकालेर सरकारले उचित राहत दिनुपर्नेमा जोड दिनुभयो ।

Photo 20211021 Jumla 3

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले जिल्लाको विपतको प्रारम्भिक क्षति प्राप्त भएपछि सामुहिक रूपमा संघीय सरकारलाई राहत र विशेष प्याकेज कार्यक्रम तथा बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय, सञ्चारमाध्यम एक भएर राज्यलाई जिम्मेवार बनाउनुपर्ने उहाँको धारणा थियो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोलीले क्षति भएको क्षेत्र तातोपानी र तिलामा अवलोकन गरेको छ ।

प्रजिअ प्रसाईले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउका धान खेतीमा क्षति भएको बताउनुभयो ।

Photo 20211021 Jumla 3

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार शारदा नगरपालिका–१५ स्यालपानी निवासी लुब्त्रकृष्ण भट्राइको १० रोपनी जग्गामा रहेको धानमा वर्षाले क्षति पुर्‍याएको छ । तरकारी रोप्ने भनेर खेतमा काटेर राखेको धानमा लगातार चारदिनसम्म पानी परेपछि खेतमै धान उम्रिएको उहाँले बताउनुभयो ।

बाली भित्र्याउने बेलामा खेतमा काटेर राखेको धान उम्रिएपछि अर्को वर्ष बीउको समेत अभाव हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । धान काटेकै ठाउँमा उम्रिएपछि चामल खान योग्य नहुने बताउँदै उहाँले राज्यले किसानका लागि राहत ल्याइदिए सहज हुने बताउनुभयो । खेती गरेरै जीवन चलाइरहेका उनि जस्तै अन्य किसानहरू पनि धान भित्र्याउने बेलामा वर्षा भएपछि मारमा परेका छन् ।

अविरल वर्षाका कारण सल्यानमा करिब २८ प्रतिशत धानमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । हालसम्म जिल्लाभर २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको कार्यालय प्रमुख महेश आचार्यले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको थियो । तर वर्षातका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षति भएको उहाँको भनाइ छ । हाल सम्म ४४ दशमलव ५० प्रतिशत धान काट्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ८ हजार ६ सय १० मेट्रिक टन धान किसानले भित्र्याइसकेका छन्, भने १३ हजार ३ सय ७४ मेट्रिक टन धान काट्न बाँकी रहेको छ । सबै भन्दा धेरै सिद्ध कुमाख गाउँपालिकामा र सबैभन्दा कम कपुरकोट गाउँपालिकामा धानमा क्षति पुगेको कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

photo20211021 salyan 2

कार्यालय प्रमुख आचार्यले धान भित्र्याउने समयमा परेको वर्षाका कारण जिल्लामा यस वर्ष धान उत्पादन घट्ने बताउनुभयो । किसानले काटेको धान कुहिने र धान उत्पादन घट्ने भएका कारण खाद्य उत्पादनमा समेत असर पर्ने उहाँको भनाइ छ ।

‘खाद्यान्नमा आत्मनिर्भर रहेको यस जिल्लामा गत वर्ष ३ हजार ७ सय मेट्रिक टन खाद्यान्न आवश्यकता भन्दा बढी उत्पादन भएको थियो । यस वर्ष धान मात्रै करिब ८ हजार मेट्रिक टन क्षति पुगेको छ’ कार्यालय प्रमुख आचार्यले भन्नुभयो, ‘यसले गर्दा उत्पादनमा कमी हुने बित्तिकै खाद्य सङ्कट पर्ने देखिन्छ ।’

पानीले भिजेर खेतमै उम्रिएको धान खान योग्य नहुने उहाँको भनाइ छ । यस्तै एक चोटी उम्रिएको बिउ अर्को चोटी न उम्रिने भएकाले धानको बिउमा समेत कमी आउने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँइले जिल्लामा किसानको खेती योग्य जमिन भन्दा पनि बालीमा क्षति पुगेकाले तत्काल कुनै राहतको प्याकेज नरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हुमागाँइले क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिंदै संघ र प्रदेशले किसानहरूलाई राहत प्याकेज घोषणा गरेपछि किसानहरूलाई केही राहत पुग्ने बताउनुभयो ।

photo20211021 salyan 1

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत

अन्य

भिडियो