बारागढी गाँउपालिकाको कार्यालयले गत आर्थिक वर्षको असारमा वितरण गर्नुपर्ने पाँच वर्ष उमेर पूरा नभएका बालबालिकालाई उपलब्ध गराउनु पर्ने बालपोषण भत्ता वितरण नगरेको गुनासो गर्दै अपाङ्गता भएका बालबालिका र बालिबालिकाका अभिभावकहरूले इन्सेक बारा जिल्ला प्रतिनिधिसँग बालपोषण भत्ताका लागि पहल गर्न अनुरोध गरेपछि प्रतिनिधिले उपलब्धताका लागि पहल गर्नु भएको छ ।
गत आर्थिक वर्षको तेस्रो चौमासिक र चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वितरण गर्नुपर्ने रकम नपाएको भन्दै असोज २४ गते इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई पहल गरिदिन बारागढी गाँउपालिका–६ सानो हेगौलियाका अभिभावकहरूले निवेदन दिएका हुन् ।
बालिबालिकाका अभिभावकले अनुरोध गरेपछि इन्सेक प्रतिनिधि भोलानाथ पौडेलले बारागढी गाँउपालिका–६ का वडाध्यक्ष निरजकुमार साह, पञ्जिकरण शाखा प्रमुख सरोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीसँग छलफल गरी निकास निकाल्न आग्रह गर्नुभएको छ ।
सो छफलको क्रममा वडाध्यक्ष साहले बालबालिकाको रकम गाउँपालिकाको कार्यालयले उनीहरुको बैङ्क खातामा पठाउने भएकाले वडा कार्यालयले गाउँपालिकाको कार्यालयलाई छिटो निकासा दिन आग्रह गरिरहेको बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षा भत्ताका विषयमा इन्सेकले भदौ ३ गते समाचार प्रकाशन गरेपछि सबै नागरिकले भत्ता पाएकासमेत बताउनुभयो ।
०७७ चैतदेखि २०७८ असारसम्मको र त्यसयता असोजसम्मको गरी सात महिनाको रकम कात्तिक महिनाको १० गते वितरण गर्ने तयारीमा रहेको पञ्जिकरण शाखाका सरोजकुमार साहले बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा चौमासिक वितरण हुने गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा प्रत्येक तीन महिनामा वितरण गर्नुपर्ने व्यवस्था रहेपनि भदौमा वितरण गर्न नसकेकाले ढिलै भएपनि कात्तिकमा वितरण हुने बताउनु भयो ।
उहाँले पाँच वर्ष मुनिका २ हजार बालबालिकालाई वितरण गर्नु पर्ने भएकाले नविकरण गर्ने र बैङ्क खाता खोल्नेलगायतका कार्यले गर्दा समस्या भएको बताउनुभयो ।
ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधुवा महिला, पूर्ण अशक्त अपाङ्गता भएका व्याक्तिलगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको र बाल पोषण भत्ता मात्र वितरण गर्न बाँकी रहेकाले दशैँको विदापछि वितरण गर्ने बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले बताउनुभयो ।