बाँकेमा भएका महिला हिंसाका दुई ओटा घटनामा निष्पक्ष अनुसन्धानको माग गर्दै नेपालगञ्जबाट २० दिन पैदलै काठमाडौँ आएको अधिकारकर्मी तथा पीडित परिवारका सदस्यहरूले ०७८ असोज २२ गते माइतीघर मण्डलामा अनिश्चितकालिन रिले अनसन सुरु गरेका छन् ।
आफ्नै घरमा ०७८ साउन ५ गते मृत फेला परेकी बाँके नेवाजी गाउँकी नन्कुनी धोबी र गते वर्षदेखि बेपत्ता भएकी परसपुर गाउँकी एकल महिला निर्मला कुर्मीको घटनामा गम्भीर अनुसन्धानको माग गदै १४ जनाको समूह पैदलै काठमाडौँ आएको हो ।
प्रहरीले घटनामा चित्त बुझ्दो अनुसन्धान नगरेको भन्दै मृतकका परिवार र अधिकारकर्मीहरूले काठमाडौँस्थित सिंहदरवारको ध्यानाकर्षण गराउन आउनुअघि जिल्ला प्रशासन कार्यालय बाँके अगाडि १९ दिन धर्ना बसेका थिए ।
पीडितको आन्दोलनमा एक्यवद्धता जनाउन र घटनाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगको टोली, अधिकारकर्मी र नागरिक समाजका सदस्यहरू माइतिघर मण्डला पुगेका थिए ।
