कोभिड-१९ को कारण लामो समय बन्द भएर साउन २१ गतेदेखि सञ्चालनमा आएका खत्याड गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
कोभिड महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा पढाइ प्रभावित भएको र हाल पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरूको पढाइमा पुनः अवरोध भएको सरोकारवालाको गुनासो छ ।
गाउँपालिकाले समयमै पाठ्यपुस्तक नपुर्याउँदा आफ्नो विद्यालयका ४ सय विद्यार्थीहरूको पढाइमा बाधा भएको सर्वोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।
खत्याड गाउँपालिकाका ४० वटा सामुदायिक विद्यालयका १ हजार ५ सय भन्दा बढी विद्यार्थीले हाल पाठ्यपुस्तक नपाएको प्रअ कार्कीको भनाइ छ ।
‘विद्यालय सञ्चालनमा आएपनि किताब नआउँदा पुराना केही किताबको भरमा अध्ययन गरेका छौं, नयाँ किताब आएको भए पढाइमा सजिलो हुन्थ्यो’ सर्वोदय माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत अनिता कार्कीले भन्नुभयो ।
गाउँपालिकाले भने विद्यार्थीका लागि नयाँ पाठ्यपुस्तक ढुवानी गरिसकेको जनाएको छ ।
गाउँपालिकाका लागि भनेर ल्याइएका पाठ्यपुस्तकहरू वर्षातका कारण विभिन्न ठाउँमा बाटो अवरूद्ध भएका कारण समयमै पाठ्यपुस्तक पुर्याउन नसकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पदम शाहीले जानकारी दिनुभयो ।
जुम्लाको गोठी जिउलामा रोकिएका पाठ्यपुस्तकहरू सडक मर्मत हुने बित्तिकै सबै विद्यालयलाई वितरण गरिने योजना रहेको शाहीले बताउनुभयो ।