म्याग्दीको सदरमुकाम बेनीमा रहेको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालका डाक्टर तथा कर्मचारीहरुले तलब नपाएको भन्दै धर्ना बसेका छन् ।
दशैंको मुखमा पुग्दासम्म पनि अस्पतालले तलब भत्ता नदिएको भन्दै डाक्टर, नर्स लगायतका करिब १ सय ३० जना कर्मचारीहरु आन्दोलित भइ अस्पतालको सेवा बन्द गरेका छन् ।

कर्मचारीहरुले गएको साउन देखिकै तलब भत्ता नपाएकोले गर्दा बिहान १० बजे देखि इमर्जेन्सी वार्डको अगाडि धर्ना बसेका छन् ।
अस्पतालका डाक्टर सन्तोष सिटौलाका अनुसार अस्पतालमा कार्यरत स्थायी तथा करार एवम् अस्थायी गरी झण्डै १ सय ३० जनाले चालु आर्थिक वर्षको तलब पाएका छैनन् । तीन महिनाको तलब अनि दशै खर्च वापतको रकम पनि पाउन बाँकी छ ।
‘तीन महिनासम्म चुपचाप काम गरिएकै हो तर दशैं आइसक्यो, भोली घटस्थापना छ तर आजसम्म पनि तलब आउने नआउने टुङ्गो नभएपछि अत्यावश्यक बाहेक अन्य सबै सेबा बन्द गरेर धर्नामा बसेका छौं ।’–उहाँले बताउनुभयो ।
बेनी अस्पतालमा नौ जना डाक्टरहरु कार्यरत रहेको भएपनि असोज २० गते देखि सबै सेबा बन्द गरेर धर्नामा बसेका छन् ।
पटकपटक आग्रह गर्दा पनि लेखाले काम नगरेको कारण कर्मचारीहरु आन्दोलित भएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो ।
‘खातामा भएको पैसा चेक बनाएर बैंक ट्रान्सफर गर्नका लागि कुनै समस्या छैन । लेखा प्रमुखले आवश्यक कागजात तयार गरेपछि मैले प्रमाणीत गर्ने हो तर अहिलेसम्म कुनै कागजात मेरोमा आएकै छैन ।’–उहाँले भन्नुभयो–‘भोली घटस्थापना त्यसपछि शुक्रबार, अनि आइतबार र सोमबार बैङ्कले काम गर्ला नगर्ला चालु आर्थिक वर्षको तलब कसैले पाएका छैनन् ।, कार्यालय प्रमुखको नाताले मैले धेरै प्रयास गरेको भए पनि लेखाबाट काम नहुँदा समस्या भयो ।’

बेनी अस्पतालमा आफ्नो कार्यालयको लेखापाल छैन । प्रदेश अन्तरगतको कार्यालयलाई प्रदेशले नै कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत लेखापाल खटाएको छ ।
बेनी अस्पतालमा दैनिक रुपमा १ सय ५० देखि २ सय जना बिरामी आउने गरेका छन् ।
बिरामी लिएर उपचारका लागि आएका मङ्गला गाउँपालिका–२ का पूर्ण कार्कीले तलब नपाएको निहुमा चिकित्सकहरु नै धर्नामा बस्दा बिरामी भएर आएका अन्य सर्वसाधारण नागरिक समेत समस्यामा परेको बताउनुभयो ।
‘आफ्नो नियमित चेकजाच गर्न आएको तर यहाँ आउँदा उपचार नहुने थाहा भएपछि अब कुन अस्पतालमा जाने भनि समस्या भएको छ ।’ –उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका निमित्त प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले अस्पतालको समस्या समाधानका लागि प्रयास भइ रहेको बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका प्रमुख युक्तप्रसाद शर्माले महिना पुग्नासाथ कर्मचारीले तलब पाउनैपर्छ भनेर निर्देशन गरिएको बताउनुभयो ।
‘कर्मचारीले तलब पाउनपर्छ भनेर निर्देशन गरिएकै हो, के भएर काम भएन त्यो जानकारी आइसकेको छैन, समस्या समाधानको प्रयास हुन्छ ।’–उहाँले बताउनुभयो–‘आधिकारिक रुपमा राज्यको निकायबाट समस्याको बारेमा लिखित जानकारी आएमा हाम्रो जिम्मेवारी भित्रको कार्यालयको समस्या समाधानको लागि हामी प्रयास गर्छौं ।’