३० वर्षीया महिलालाई डरधम्की देखाई अपहरण गरी बन्धक बनाएको आरोपमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धिरोज श्रेष्ठ र चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाललाई प्रहरीले ०७८ असोज १७ गते गिरफ्तार गरेको छ ।
पत्नीलाई असोज १५ गते अपहरण गरेको भन्दै चन्द्रागिरी नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने निरमान बोम्जनले आरोपितहरूविरुद्ध महानगरीय प्रहरी प्रहरी वृत्त थानकोटमा सोही दिन उजुरी दिनु भएको थियो ।
महानगरीय अपराध महाशाखा काठमाडौँको टोलीले अपहरणमा परेकी बोम्जनको पत्नीलाई असोज १७ गते चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलस्थित रसिला अवालेको घरबाट उद्धार गरेको छ ।
घटनामा संलग्न श्रेष्ठ र अवालेलाई अपहरण तथा शरीर बन्धकको अभियोगमा जिल्ला अदालतबाट असोज १७ गते नै पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा पठाइएको महानगरीय प्रहरी महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङ्गले बताउनुभयो ।