INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले काठेपूल बगाएपछि बालबालिकालाई विद्यालय जान समस्या

सिमकोट गाउँपालिका–४ को स्याप्ने खोलामा रहेको काठे पूल बाढी पहिरोले बगाएपछि पुनः निर्माणमा सम्बन्धीत निकायले ढिलाई गरेपछि सदरमुकाम सिमकोटमा अध्ययन गर्न जाने ३५ जना विद्यार्थीलाई विद्यालय जान समस्या भएको बालबालिकाले गुनासो गरेका छन् ।

खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नु परेको बाल मन्दिर मावि कक्षा १० मा अध्ययनरत छात्र गणेश बोहराले गुनासो गर्नु भएको हो ।

उक्त काठे पूल भदौ २६ गतेको बाढी पहिरोले बगाएको थियो । हेल्दुङ्ग साना जल विद्युतको आयोजनाबाट वितरित नहरको एक भाग भासिदा स्याप्ने खोलामा रहेको काठेपूल बगाएपछि सिमकोट गाउँपालिकाका–१ को दोजाम र २ को ठेहेका स्थानीयलाई आवत जावतमा कठिनाई भएको हो ।

दैनिक विद्यालयमा पठनपाठनका लागि बिहान खोला तरेर जोखिमपूर्ण यात्रा गरी विद्यालय पुग्नु परेको मानसरोवर मावि कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता भण्डारीले गुनासो गर्नु भयो । उहाँका अनुसार सो काठेपूल समयमै निर्माण गरिदिएको भए हामीलाई यात्रा गर्न सहज हुने थियो ।

पहिरो गएर खोलाको पानीको बहाव बढेपछि ठेहे तथा दोजमका स्थानीय नागरिकलाई जिल्ला सदरमुकाम सिमकोटमा गएर खाद्यान्न जोहो गर्न समस्या भएको स्थानीय दन्तविर सुनारले गुनासो गर्नु भयो ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले असोज १४ गतेदेखि वडाको खाद्यन्न वितरण गरेकाले सो ठाउँका स्थानीय खाद्यन्न लिन सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता रहेको छ ।

सो ठाउँमा काठेपुल मात्रै नभई खोलाको आसपासमा आवत जावत गर्न कठिनाई भएको सुनारको भनाई छ । दैनिक खोलामा वारपार गर्नेको संख्यामा वृद्धि भएको छ । त्यस्तै पशु बस्तुहरूलाई पनि घाँटीमा डोरी बाँधी वारपार गर्ने गरिएको स्थानीय धन सुनारले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

विशेष गरेर दुई वडाका स्थानीयलाई सदरमुकामबाट खाद्यन्नदेखि अन्य सम्पूर्ण सामग्री लैजान सोही खोलाबाट वारपार गर्नु पर्ने बाध्यता रहेको स्थानीय धन सुनारले गुनासो गर्नु भयो ।

करिव एक महिनादेखि विद्युतको नहर भासिएर गएको बाढी पहिरोले स्याप्ने खोलको काठेपूल बगाएपछि मानिस तथा पशु बस्तुलाई प्रत्यक्ष रुपमा आवत जावत गर्न कठिनाई भएको बाटो हिड्ने बटुवाले गुनासो गरेका छन् ।

खोलाले बगाएको काठेपुल मर्मतका लागि सिमकोट गाउँपालिकाले हाल ७० हजार रुपियाँको रकम छुट्याएर काठे पूल पुनः निर्माणका लागि कामदार खटाएको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनु भयो । कामदार धन सुनारका अनुसार गाउँपालिकाले छुट्याएको रकम प्रयाप्त नपुग्ने र फेरी पनि यस्तै समस्या दोहोरिने गुनासो गर्नु भयो ।

त्यस्तै सिमकोट गाउँपालिका–४ स्याप्ने गाउँका करीव १८ घरपरिवार सो बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । यो भन्दा पहिला २०७१ सालमा सो खोलामा बाढी पहिरो जाँदा स्याप्ने गाउँका नागरिक विस्थापित भएको स्थानीय दखल महतले बताउनु भयो । बाढी पहिरोको उच्च जोखिममा रहेको स्याप्ने गाउँलाई स्थानान्तरण गर्न पटक पटक पहल गरे पनि हालसम्म सुनवाई नभएको स्थानीय महतको भनाई छ ।

Photo 2021-10-03 Humla (1)

Photo 2021-10-03 Humla (2)

Photo 2021-10-03 Humla (3)

अन्य

भिडियो