कोभिडविरुद्धको भ्याक्सिन किनबेच गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका-३ यदुकुहास्थित श्रीराम हेल्थ केयरका सञ्चालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्रका अहेव देवशरण यादवलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयलाई नगरपालिकाको अनुशासन समितिका अध्यक्ष कन्हैया मुखिया, नगर प्रमुख उदयकुमार बरबरिया यादव, प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, स्वास्थ्य शाखा प्रमुख कपिलदेवप्रसाद अधिकारीलगायत सुरक्षाकर्मी र प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीलगायतको अनुगमन टोलीको सहयोगमा इलाका प्रहरी कार्यालय यदुकुहाले गिरफ्तार गरेको हो ।
शहिदनगर नगरपालिका–३ यदुकुहास्थित प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहाको गेट अगाडि श्रीराम मेडिकलमा भदौ ३१ गते विशेष सूचनाको आधारमा गरिएको अनुगमनबाट भेरोसेल चार भायल, जोन्सन एन्ड जोन्सन एक भायल र अस्ट्राजेनेका एक भायल गरी ६ भायल कोभिडविरुद्धको भ्याक्सिन बिक्री गर्न राखिएको अवस्थामा फेला परेपछि हेल्थ केयरका सञ्चालक मण्डललाई गिरफ्तार गरेको शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरवरिया यादवले इन्सेक धनुषा प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहाका अहेव देवशरण यादवले रकम लिएर हेल्थ केयरका सञ्चालक मण्डललाई उक्त खोप उपलब्ध गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
श्रीराम हेल्थ केयरमा शिलबन्दी गरिएको शहिदनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत यादव र नगर प्रमुख यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनको क्रममा मञ्जु मेडिकल हल र चौधरी मेडिकल हलमा म्याद नाघेका औषधिहरु पाएको अनुगमन टोलीले जनाएको छ ।
म्याद नाघेका औषधिहरु शीघ्र व्यवस्थापन गर्न र विक्री वितरण नगर्न नगराउन निर्देशन दिएको शहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया यादवले बताउनु भयो ।
सङ्घीय सरकारले निःशुल्क रुपमा नगरपालिकाको स्वास्थ्य केन्द्रमा पठाएको कोभिडविरुद्धको भ्याक्सिन निजी औषधि पसलमा फेला परेकाले दोषीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने शहिदनगर नगरपालिकाका प्रमुख बरबरीयाले बताउनुभयो ।
कोभिडविरुद्धको भ्याक्सिन बेचिएको बारेमा अझै अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयो ।