त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिकले आर्थिक वर्षको दोस्रो महिना सकिन लाग्दा पनि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।
नेपाल सरकारले ७० वर्ष माथिका नागरिकलाई मासिक ४ हजार रूपियाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि साविक कर्णालीमा ६५ वर्ष माथिका पुरूष र ६० वर्ष माथिका महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
उक्त सुरक्षा भत्ता समयमा नपाउँदा समस्या भएको त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटका ६० वर्षीया एकल महिला पुनादेवी न्यौपानेले गुनासो गर्नुभयो ।
‘गत वर्षमा महिना सकिने बित्तिकै घरमै भत्ता ल्याएर बुझाउँथे तर अहिले बैङ्कमा खाता खोलेपछि अझै भत्ता पाएका छैनौ’ उहाँले भन्नुभयो ।
वडा नम्बर–१० लिकुका ६८ वर्षीय ज्येष्ठ नागरिक ज्योतिप्रसाद पहाडीले पनि भत्ता खातामा जम्मा भयो की भनेर नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरस्थित माछापुच्छ्रे बैङ्कमा तीन पटक गएपनि रकम जम्मा नभएको दुःखेसो पोख्नुभयो ।
त्रिपुरासुन्दरी नपामा २ सय आठजना ज्येष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी प्रमुख प्रितिभक्त गिरीले सबै किसिमको सामाजिक सुरक्षा भत्ता बैङ्कमा गइसकेको बताउनु भयो ।
उहाँले भन्नु भयो,–‘सबै नागरिकको बैङ्कमा खाता खोल्नु पर्दा र बैङ्कले पनि प्रत्येकको खातामा रकमान्तर गर्दा केही ढिला भएको हो ।’
त्रिपुरासुन्दरी नगरपालिकाका लेखापाल रूपचन्द्र बुढाले गत आर्थिक वर्षको मसान्तसम्म भौचर उठाएर रकम भुक्तानी दिन मिल्ने प्रणाली बनाएसँगै ०७८ असार मसान्तमा विभिन्न शीर्षकको रकम खर्च गर्न नसकेको भन्दै फ्रिज भएको भन्ने जानकारी आएपछि ढिलो भएको बताउनु भयो ।
बारम्बार अनुरोध गरी अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण विभागमा परिपत्र गरेपछि रोकिएको सबै रकम सम्बन्धित पक्षको खातामा जम्मा हुने गरी बैङ्कमा पठाइएको लेखापाल बुढाले जानकारी दिनु भयो ।
सबै वडाका नागरिकको प्रत्येक खातामा जम्मा गर्नु पर्ने र झिक्दा समेत बैङ्कमा भिडभाड हुने भएकाले पालैपालो खातामा जम्मा गरेर जानकारी दिने गरिएकाले ढिला भएको उहाँको भनाइ छ ।