जिल्लामा नवजात शिशुको मृत्यु दर बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्क अनुसार प्रत्येक आर्थिक वर्षमा मृत्यु दर बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा जन्मेको २८ भित्रका नौ जना शिशुको मृत्यु भएको थियो । ५ हजार ६ सय ३७ शिशु जन्मेकोमा २८ दिनभित्र मृत्यु हुने शिशुको दर १.६० प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो ।
०७६/०७७ मा ११ शिशुको मृत्यु भएको उहाँले बताउनुभयो । यस आवमा कुल ५ हजार ३ सय २२ शिशु जन्मेकोमा २८ दिनभित्र मृत्यु हुने शिशुको दर २.०७ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
यसैगरी ०७६/०७७ को अवधिको तुलनामा ०७७/०७८ मा दोब्बर शिशुको मृत्यु भएको छ । यस आवमा २२ जना शिशुको मृत्यु भएको प्रमुख चौधरीले बताउनु भयो ।
यस आवमा ४ हजार ६ सय १ शिशु जन्मेकोमा शिशु मृत्युदर ४.७८ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
पाल्पामा गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि विभिन्न स्वास्थ्य सचेतना मूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएपनि नवजात शिशुको मृत्युदर भने बढ्दो रहेको छ ।
सुत्केरी गराउन स्वास्थ्य संस्थामा नजाने र शिशु बिरामी भएमा घरेलु उपचार गराउने कारणले गर्दा शिशु मृत्यु दर बढेको प्रमुख चौधरीले बताउनु भयो ।