INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार लेखेको आधारमा पत्रकारलाई धम्की दिने व्यक्तिलाई कारवाही गर्न सुझाव

नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की दिने व्यक्तिलाई कारवाही गर्न सरोकारवालाहरूलाई सुझाव दिएको छ ।

कर्णाली प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि बलात्कार घटनाको आरोप लागेको भन्ने समाचार भदौ ६ गते नागरिक दैनिक र अन्नपूर्ण पोष्टको अनलाइनमा र ७ गते दुवै पत्रिकामा प्रकाशित भएपछि धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रद्वारा भदौ १३ गते गठित मिडिया मिसन टोलीले भदौ २३ गते प्रतिवेदन सार्वजनिक गदै यस्तो सुझाव दिएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रिय सदस्य दिपेन्द्र शर्मा सदस्य रहेको मिसन टोलीले धम्की दिने मन्त्रीका स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारवाही गर्न सुझाव दिएको छ ।

प्रेस सल्लाहकार अधिकारी नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सदस्य समेत भएकाले  महासंघको विधान अनुसार आवश्यक छानविन प्रक्रिया सुरू गर्न समेत जिल्ला शाखालाई आग्रह गरिएको छ ।

‘समाचार लेख्ने नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार विष्णु न्यौपानेको सुरक्षालाई विशेष ख्याल गर्न, प्रेस स्वतन्त्रता विरोधी घटनाका दोषिमाथि आवश्यक कारवाही र निगरानी गर्न तथा आगामी दिनमा सामाजिक सञ्जालका साथै अन्य माध्यमबाट डर, धम्की, त्रास उत्पन्न हुने हर्कत नगर्न, पत्रकारलाई स्वतन्त्रता पूर्वक समाचार लेख्ने वातावरण बनाउन सरोकारवालालाई सुझावसहित माग गरिएको छ’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जनाइए अनुसार आरोपितहरूले उक्त समाचार लेखेको भन्दै पीडित पत्रकारहरूलाई सामाजिक सञ्जाल, टेलिफोनमार्फत मार्ने धम्की दिएको र भदौ ६ गते राति अज्ञात पक्षले न्यौपानेको वीरेन्द्रनगरस्थित निवासमा ढुङ्गा हानेको तथा सोहि समयमा उपाध्यायको वीरेन्द्रनगरस्थित कार्यालयमा समेत ढुङ्गा हानेको थियो ।

‘पत्रकारद्वयले धम्की आएको जानकारी गराएपछि पत्रकार महासंघ कालिकोट एवंम सुर्खेत शाखा, कर्णाली प्रदेश समिति र केन्द्रले समेत घटनाको निन्दा गर्दै दोषिलाई कारवाहि गर्न विज्ञप्ति निकालेको थियो’ केन्द्रिय सदस्य शर्माले भन्नु भयो ।

प्रकाशित समाचारमा पत्रकार आचार संहिता उल्लङ्घन नभएको र महिला स्वयमले नै सामाजिक सञ्जालमार्फत आफ्नो पहिचान सार्वजनिक गरेर आफैंमाथि खेलवाड गरेको टोलीको ठहर छ ।

यस्तै मिसन टोलीले घटनाको पीडित भनिएको पक्ष र पीडक भनिएको पक्ष एकै ठाउँमा हुँदा पत्रकारमाथि थप सुरक्षा जोखिम देखिएको चित्रित गरेको छ ।

अन्य

भिडियो