INSEC Online

📅 २०८३ जेष्ठ २१

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता पीडित परिवारहरूको सहभागितामा भदौ १४ गते जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको ११ औँ अन्तर्राष्ट्रिय दिवस संयुक्त रुपमा मनाइएको छ ।

यसैबिच सशस्त्र द्वन्द्वका क्रममा मृत्य भएका तथा बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारहरूको परिपुरण र न्यायका लागि छुट्टै निर्देशिका र ऐन बनाउन इन्सेकलगायतका सङ्घसंस्थाहरूको पहलमा पीडित परिवारहरूमार्फत प्रदेश २ सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहसँगको भेटवार्तामा पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री साहले सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, बेपत्ता भएका पीडित परिवार र अङ्गभङ्ग भएका व्यक्तिहरूको परिपुरण तथा सामाजिक न्यायका लागि आफ्नो तर्फबाट पूर्ण रूपमा पहल गर्ने पतिबद्धता जनाउनु भयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत बलपूर्वक बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिको संरक्षण गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन गर्न नेपाल सरकारसँग माग गर्दै प्रधानमन्त्रीलाई भदौ १४ गते नै ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले सशस्त्र द्वन्द्वको अन्त्य भएको लामो समय बितिसक्दा पनि त्यस समयमा अङ्गभङ्ग भएका, मृत्यु भएका र बेपत्ता भएका पीडित परिवारहरूले हालसम्म न्याय उचित परिपुरण र न्याय नपाएकाले यस कुराको सम्बोधन हुनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै सशस्त्र द्वन्द्वको अवधिमा बेपत्ता र सहिद बनाइएहरूको सम्झनामा पीडित परिवारको उपस्थितिमा इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम, ओरेक र एम्नेष्टि इन्टरनेशनललगायतका सङ्घसंस्थाहरूले जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरी कार्यक्रमको अन्त्य गरिएको छ ।

photo20210830dhanusha (1)

photo20210830dhanusha (2)

photo20210830dhanusha (3)

अन्य

भिडियो