INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेडिकल सुपरिटेन्डेन्ट ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियू दाङका संयोजक २७ वर्षीय सर्जन परियार, सहसंयोजक २६ वर्षीय दिवस क्षेत्री र सदस्य २८ वर्षीय गणेश खड्काविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा उजुरी दिएको छ ।

टाइफाइडका बिरामीलाई कल्चर सेवा नदिएको भन्दै परियारलगायतका तीन जनाको समूहले भदौ ११ गते कार्यकक्षमै मोसो दलेर भागेपछि भदौ ११ गते नै प्रहरीमा उजुरी दिइएको अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

घटनालगत्तै फरार रहेका आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

घटनालगत्तै अस्पताल विकास समितिको बैठकले दोषीमाथि हदैसम्मको कारवाहीको माग गर्दै कोभिड–१९ को महामारीमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहारको घटनाप्रति खेद् व्यक्त गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

चिकित्सक सङ्घ दाङका अध्यक्ष डाक्टर कुवेर रेग्मी र उपाध्यक्ष डाक्टर किशोर खत्रीले भदौ ११ गते विज्ञप्ति निकालेर घटनाको भर्त्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति निकालेर घटनामा संलग्नहरूमाथि कारवाही गर्न पार्टीले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

भदौ ११ गते जारी विज्ञप्तिमा घटनामा संलग्नको आरोप लागेकाहरूलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको उल्लेख छ ।

अन्य

भिडियो