नेपालमा २०५२ सालदेखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनका थुपै घटना भए । यस्ता कतिपय घटना मानवता विरुद्धका गम्भीर प्रकृतिका छन् । तथापि त्यस्ता घटनाका सम्बन्धमा अझै सत्यतथ्य अध्ययन भएको छैन । जसले गर्दा पीडितले न्याय पाउन सकेका छैनन् । मानवता विरुद्धको द्वन्द्वकालीन घटनाको रूपमा रामेछापको दोरम्बामा भएको सामूहिक हत्या पनि एक हो । २१ जना मानिसको ज्यान लिने गरी तत्कालीन शाही नेपाली सेनाको तर्फबाट भएको सो नरसंहारकारी घटनाका दोषीमाथि अझै कारबाही हुन सकेको छैन । राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा चर्चामा आई अभिलेख भएको र नेपाली सेनाले समेत दुर्नाम व्यहोरेको दोरम्बा घटनामा मारिएकाका आफन्तहरूले अहिलेसम्म न्यायको अनुभूति गर्न पाएका छैनन् ।
घटनाको पृष्ठभूमि
सरकार र माओवादीबिच दाङको हापुरेमा २०६० साउन ३२ गते वार्ता चलिरहेको बेला रामेछापस्थित नारायण दल गुल्मबाट गएको सेनाको टोलीले तत्कालीन दोरम्बा गविस–२ का युवराज मोक्तानको घरमा माओवादीहरू बैठकमा बसिरहेको बेला घर घेरा हाली उनीहरूलाई नियन्त्रणमा लिएर एक जनालाई घटनास्थलमा नै र बाँकी १९ जनालाई साविकको डडुवा गाविस–९ मा पुर्याएर गोली हानी सामूहिक रूपमा हत्या गरेको थियो । सोही घटनापछि माओेवादीले वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएको घोषणा गरी आफ्ना गतिविधि सञ्चालन गरेको थियो ।
२०५२ सालदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई रोकेर माओवादीले युद्ध विरामको घोषणा गरी सरकारसँग वार्ता गरिरहेको थियो । वार्ता सकारात्मक रूपमा अघि बढेको थिएन तर पनि भाँडिइसकेको पनि थिएन । युद्धविरामको समय भएकाले माओवादी कार्यकर्ता अर्धभूमिगत अवस्थामा थिए । माओवादीका केही कार्यकर्ता सदरमुकाममा आउनेजाने गर्दथे । गाउँमा माओवादी खुल्ला जस्तै हिँड्ने र बैठक गर्ने गर्दथे ।
माओवादीको राजनीतिक नक्सामा रामेछाप छुट्टै जिल्ला थिएन । रामेछापलाई तीन ओटा जिल्लामा गाभिएको थियो । जसमा काभ्रे–रामेछाप, ओखलढुङ्गा–रामेछाप र सोलु–रामेछाप गरेर विभिजन गरिएको थियो । भूगोलको हिसावले काभ्रे–रामेछापमा रामेछापका तत्कालीन धेरै गाविस पर्दथे । जिल्ला सदरमुकाम मन्थलीसम्मको भूभाग काभ्रे–रामेछापको राजनीतिक नक्सामा पर्दथ्यो ।
सराकार र माओवादीबिच वार्ता चलिरहेको बेला माओवादीको काभ्रे–रामेछाप जिल्ला कमिटीले दोरम्बामा पार्टीको जिल्ला कमिटीको बैठक बोलाएको थियो । साउन ३२ गते बिहानैदेखि माओवादी नेता कार्यकर्ता दोरम्बा गविस–२ का युवराज मोक्तानको घरमा जम्मा भएका थिए । उनीहरूले केही कोल्टो र एकान्त ठाउँमा पर्ने भएकाले सो घर रोजेका थिए । बैठकमा माओवादीका कार्यकर्ताको विवाह गर्ने तयारी पनि थियो । माओवादीले बैठक सुरु गर्दा घरमा घरका मुली युवराज मोक्तान भने घरमा हुनुहुन्नथ्यो । मोक्तान बैठक भइरहेको समयमा सोही दिन काठमाडौँबाट घर आइपुग्नुभएको थियो ।
माओवादीहरू सो ठाउँमा जम्मा हुँदैछन् भन्ने थाहा पाएपछि नारायण दल गुल्म रामेछापका गुल्मपति मेजर राममणी पोख्रेल आफै २०६० साउन ३१ गते राति सेनाको एउटा टोली लिएर दोरम्बातर्फ लाग्नुभएको थियोे । सेनाको ब्यारेकबाट १४ घण्टाभन्दा टाढाको पैदल दुरीमा रहेको सो स्थानमा युद्धविरामको समयमा सेना पुग्छ भन्ने माओवादीले पनि सोचेको थिएन ।
रामेछाप बजारबाट राति हिँडेको सेनाको टोली बिहान गाल्बा बजारमा पुग्यो । बिहानभर त्यतै बसेको सेना खाना खएर त्यहाँबाट एक घण्टा टाढा पर्ने दोरम्बा बजारतर्फ लाग्यो । सेनाले गाल्बामा खाना खाँदै गरेको माओवादीका कार्यकर्ताहरूले पनि देखेका थिए तर वार्ताको लागि भएको युद्धविरामको घोषणा र वार्ता जारी रहेकाले सेनाले केही गर्दैन भन्ने सोचेर उनीहरूले चासो दिएनन् । दोरम्बामा पुगेपछि सेनाले युवराजको घर कहाँ पर्दछ भनेर खोजी गर्यो । केही मानिसले घर देखाइदिए । सेना सरासरी युवराज मोक्तानको घरतर्फ अगाडि बढ्यो । सेना पुग्नुभन्दा केही अगाडि घरमुली युवराज मोक्तान पनि काठमाडौँबाट आफ्नो घरमा पुग्नुभएको थियो । उहाँ पुग्दा माओवादीको बैठक चलिरहेको थियो ।
घटना विवरण
सेनाको टोली घटनास्थलमा पुग्दा माओवादी बैठकमा थिए । बैठकस्थलको सुरक्षाको लागि दोरम्बा गाविस–१ का टेकबाहादुर थापा घरको बाहिर खटिनुभएको थियो । सेनाले घरमा घेरा हल्ने बित्तिकै उहाँलाई त्यहीँ गोली हानेर ढाल्यो । बाहिर गोली चलेको थाहा पाएपछि भित्र खैलाबैला मच्चियो । पार्टीका जिल्ला इञ्चार्ज ललितपुर जिल्ला निवासी ललित भनिने हरिप्रसाद दाहाल घरको झ्यालबाट हामफालेर भाग्नुभयो । युद्धविरामको बेला भएकाले हातहतियार बिना जम्मा भएका माओवादीले प्रतिकार गर्न सकेनन् । गिरफ्तारी दिए ।
सेनाले १९ जनालाई एकै ठाउँबाट गिरफ्तार गर्यो । घरमुली युवराज मोक्तान र उहाँका छोरा लिला मोक्तान तथा तत्कालीन माओवादीका जिल्ला जनसरकार प्रमुखबेथान गाविस निवासी पुष्प भनिने बाबुराम तामाङ, सोही पार्टीकी ललितपुर जिल्ला इकुडोल गविस–६ निवासी ललिता भनिने अम्बिका दाहाल, बेथान गाविस–५ का रक्तिम भनिने प्रदिप दोङ, डडुवा गाविस–४ की सङ्गिता थामी, फुलासी गाविस–८ का यथार्थ भनिने हर्कबहादुर तामाङ, गेलु गविस–५ का समिर भनिने रवि चौहान, चनखु गविस–३ की सहारा भनिने उमा कार्की, चनखु गाविस–९ का इन्क्लाव भनिने श्याम तामाङ, पुरानागाउँ–८ का असल भनिने पदमराज गिरी, दोरम्बा–१ की विमा भनिने विष्णुमाया थापा, दोरम्बा गाविस–३ का छोक्पा भनिने ठूलोराम तामाङ, तारा भनिने सानोराम तामाङ, छायाँ भनिने लक्ष्मण तामाङ, धनुषा जिल्ला घर भएका जमिन, सोलुखुम्बु जिल्ला घर भएकी विमला भनिने हर्कलक्ष्मी राई, काभ्रे जिल्ला चौवासका सोम, डडुवा–५ का समिर भनिने चतुरमान थामी सेनाको गिरफ्तारीमा परे ।
गिरफ्तार गरिएकाहरूलाई दोरम्बा बजारमा पुर्याएर डोरी लिई दुवै हात पछाडि बाँधेर डोहोर्याउँदै लगियो । दोरम्बा बजारका मानिसहरू सबैलाई ढोका थुनेर भित्र बस्न सेनाले निर्देशन दियो । हात बाँधिएका १९ जनालाई डोहोर्याउँदै त्यहाँबाट १ घण्टा टाढा पर्ने डडुवा गाविस–९ को डाँडाकटेरी भन्ने ठाउँमा पुर्याइयो । बाटो छेउको चौरमा लाइन लगाएर हात बाँधेकै अवस्थामा एकएक गर्दै गोली हानेर सबैको हत्या गरी छाडेर सेना अगाडि बढ्यो । सेनाको सो टोली राति बिचबाटोमा बास बसेर भोलिपल्ट दिउँसो सदरमुकाम मन्थली आइपुग्यो ।
सेनाका मेजरले सुरुमा कुहिरो लागेको समयमा दोहोरो भिडन्त भएको र दोहोरो गोली हानाहानमा माओवादीतर्फ केही मानिसहरू मारिएको भन्ने सूचना स्थानीय सञ्चारकर्मिहरूलाई दिनुभयो । तर, पछि माओवादीले सेनाले आफ्ना कार्यकर्ताहरूलाई नियन्त्रणमा लिई हत्या गरेको सूचना सार्वजनिक गरेपछि घटनाको वास्तविकता सार्वजनिक भएको थियो । सेनाले हत्या गरेर त्यतिकै छाडेका ती शवहरूलाई माओवादीले आएर गाडेर गएकामा डाक्टर हरिहर वस्ती सहितको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चिहान खोतलेर पोष्टमार्टम गरेको थियो । सो घटनामा हराएकी माओवादी कार्यकर्ता उषाको शव पछि घटना भएको घर अगाडि खोल्सामा फेला परेको थियो ।
मानवता विरुद्धको अपराध
सो घटनाको अध्ययन गरी राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटनामा सेनाले राष्ट्रिय र अन्तराष्ट्रिय सबै खाले कानुनको उल्लङ्घन गरेको प्रतिवेदन सार्वजनिक गर्यो । आयोगको प्रतिवेदनको निष्कर्षमा भनिएको छ–“हात पछाडि बाँधिएका १९ जना कब्जामा लिएका व्यक्तिलाई नजिकबाट बन्दुकले गोली प्रहार गरी मारिएको घटना अन्तर्राष्ट्रिय मानवीय कानुन र खास गरी आन्तरिक प्रकृतिको सशस्त्र विवादको समयमा गिरफ्तार गरी पूर्णरुपमा कब्जामा लिएका बन्दीहरूलाई संरक्षण गर्नु पर्दछ भन्ने सिद्धान्त रहेको जेनेभा महासन्धिको साझा धारा ३ को विपरित भएको पाइयो । राष्ट्रिय सन्दर्भमा उक्त कार्य नेपाल अधिराज्यको संविधान, सैनिक ऐन, प्रहरी ऐन र सशस्त्र प्रहरी ऐन प्रतिकूल हुन गएको अनुसन्धान समितिको ठहर रहेको छ ।”
सो घटनामा गठन भएको सेनाको छानबिन समितिले पनि घटनामा सेनाका मेजर राममणी पोख्रेल दोषी भएको ठहर गर्दै उहाँलाई बर्खास्त गरी दुई वर्षको जेल सजाय सुनाएको थियो । उहाँलाई जेल हालिएकोमा मानसिक अवस्थामा विचलन आएको भनी सेनाले त्यहाँबाट निकालेपछि कहाँ राखेको छ भन्ने विषय सेनाले खुलाएन । घटनामा सेना दोषी भएको ठहर भइसक्दा पनि पीडितका परिवारले द्वन्द्वको समयमा राज्यको तर्फबाट राहत पाएनन् ।
शान्ति सम्झौतामा पछि द्वन्द्वमा मारिएका परिवारले पाउने राहत पीडित परिवारले पाएका भए पनि उनीहरूले न्याय र उचित क्षतिपूर्ति पाएका छैनन् । सो घटनामा मरिएका दोरम्बाका लक्ष्मण मोक्तानकी पत्नी काइँली तामाङ आफूहरू उचित क्षतिपूर्ति र पीडकलाई कारबाहीको प्रतिक्षामा रहेको बताउनुहुन्छ । तर, यस विषयमा पार्टी र राज्यको ध्यान नगएको उहाँको गुनासो छ । तामाङ् भन्नु हुन्छ–“जसको पालामा दोरम्बा घटना भयो उसैको नेतृत्वको सरकारमा माओवादी पनि सामेल भएको छ । अब पनि हामीले न्याय नपाउने हो भने माओवादी यो सरकारको भर्याङ मात्र भएको र त्यो बेलाको सरकारले गरेको हत्याको घटनालाई स्वीकार गरेको देखियो। अब न्यायको लागि होइन घटनाको बदलामा मात्र पीडितले न्यायको अनुभूति गर्न बाध्य हुने अवस्था आउँछ ।”
मृतकको सम्मानको प्रयास
दोरम्बा घटनामा मारिएका माओवादी नेता कार्यकर्ताको स्मारक बनाएर उहाँहरूप्रति सम्मानको प्रयास भएको छ । राज्यका तर्फबाट डडुवाको डाँडाकटेरीमा उहाँहरूको हत्या भएको ठाउँमा सहिद स्मारक निर्माण गरी मृतकको सालिक राखिएको छ । यसैगरी मृतकको थातथलोमा पनि ठाउँठाउँमा सहिद गेट बनाएर उहाँहरूलाई स्मरण गर्ने र सम्मान गर्ने प्रयासको सुरुवात भने भएको छ । तर, पीडित पक्षले खोजेको पीडक माथिको कारबाही, न्याय र परिपुरणको काम भने हुन सकेको छैन ।