INSEC Online

📅 २०८३ जेष्ठ २१

अवरुद्ध सडक सञ्चालनमा नल्याउदा नागरिकलाई सास्ती

महिनौदेखि अवरुद्ध रहेको राजपुर फलेडि धिर्कामाडौँ सडक सञ्चालनमा नल्याउदा सो क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

अविरल वर्षाका कारण राजपुर फलेडि धिर्कामाडौँ सडक खण्डको जङ्गल क्षेत्रमा हिलाम्य र ठाउँ–ठाउँमा पहिरो खसेका महिनौ बितिसक्दा समेत सरोकारवालाहरुले सडक सञ्चालन गर्न कुनै पहल नगरेपछि स्थानीयहरुले सास्ती खेप्नु परेको हो ।

सडक सञ्चालनमा नआएपछि बिरामीहरुलाई बोकेरै स्वास्थ्य चौकी तथा अस्पतालमा पुगाउनु पर्ने बाध्यता रहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

०७८ साउन २० गते बोगटान फुडसिल गाउँपालिका–५ धिर्कामाडौँ उपल्लागाउँकी ३० वर्षीया सुना धामी बोहरालाई सुत्केरी व्याथा लागेपछि सडक अवरुद्ध भएका कारण स्टेचरमा बोकेर पाँच घण्टा पैदल यात्रा गरेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा पुगाएको सुनाका पति तारासिंह बोहराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘हरेक वर्ष वर्षाको समयमा सडक अवरुद्ध हुने गरेको भएपनि स्थानीय तह र सम्बन्धित सरोकारवालाहरुले कुनै पहल नगरेका कारण स्थानीयले सास्ती खेप्नु परेको छ ।’

समयमै अवरुद्ध सडक सञ्चालनमा ल्याउन कुनै पहल नभएपछि खाद्य सामाग्रीहरुको मुल्य बृद्धि हुन गई स्थानीयहरु थप समस्यामा पर्ने गरेको स्थानीय कर्णबहादुर बोहराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–  ‘२५ केजी चामलको मुल्य २ हजार ३ सय ५० रुपियाँ पर्नेमा हाल २ हजार ८ सय रुपियाँ तिरेर किन्नु पर्ने बाध्यता छ । मुल्य बुद्धि भएकोमा कसैको ध्यान जान सकेको छैन् ।’

बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष देबबहादुर बोहराले वर्षाको समय भएकाले सडक अवरुद्ध हुन गई नागरिकहरूले सास्ती खेप्नु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘वर्षा रोकिन बित्तिकै तत्काल सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता गर्दछु । मुल्य बृद्धि भएको भन्ने जानकारी प्राप्त भएको छ । अनुगमन गरी मुल्य बृद्धि गरिएको पइएमा कार्वाही गरिने छ ।’

बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले अविरल वर्षका कारण सडक खण्डहरुका पहिरो गएका कारण सडक अवरुद्ध भएर स्थानीयहरुले सास्ती खेप्नु परेको बताउँदो केही दिन भित्रै अवरुद्ध सडक सञ्चालनमा ल्याउने योजना बनाइएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अवरुद्ध भएको सडक खुलाउने प्रयास गरिएको हो । पानी परेपछि पुनः पहिरो गएर बाटो अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण व्यापारीहरुले खाद्यबस्तुको मुल्य बृद्धि गरेको हुन सक्छ । त्यसको अनुगमन गछौँ । अनुगमनका क्रममा खाद्यबस्तुको मुल्य बृद्धि गरिएको पाइएमा कार्वाही गरिने छ ।’

अन्य

भिडियो