बलात्कार घटना मिलाइदिने भनी पैसा ठगी गरेको आरोपमा पोखरा महानगरपालिका –१८ सराङकोट बस्ने ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ ।
पोखराकी १७ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको घटनाका ५७ वर्षीय आरोपितको मुद्दा मिलाइदिने भन्दै १२ लाख रुपियाँको चेक र १ लाख १० हजार रुपियाँ ठगी गरेको आरोपमा ०७७ फागुन १९ गते पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोक प्रहरीले पोखरा मनपा–८ बस्ने ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ गंगाजमुना गाउँपालिका–१ घर भई हाल पोखरा हेमजा बस्ने ३९ वर्षीय कमानबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
सोही घटनामा फरार रहेका आरोपित त्रिपाठलाई पोखरा मनपा–१८ सराङकोटबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरोपितविरुद्ध जिल्ला अदालत कास्कीमा फागुन २० गते ठगी र जबरजस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने अभियोगमा मुद्दा दर्ता रहेको छ ।
आरोपितलाई गिरफ्तार गरी सोही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइ कास्की जिल्ला अदालतलाई बुझाइएको डिएसपी हमालले जानकारी दिनुभयो ।