माछापुच्छ्रे गाउँपालिका वडा न–२ बाझाखेत बस्ने ५५ वर्षीय श्रीमाया कामीको हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति श्रीराम कामीलाई साउन २६ गते गिरफ्तार गरेको छ ।
मृतकलाई आरोपितले मादक पदार्थ सेवन गरेर साउन २६ गते सिलौटाको लोहोरोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते कामीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
आरोपितलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा सोही दिन गिरफ्तार गरेर उनीविरुद्ध जिल्ला अदालत कास्कीमा कर्तव्यज्यान सम्बन्धी कसुर मुद्दा अन्तरगत पाँच दिनको म्याद थप गरी घटनाका अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
शवको पोष्टमार्टम साउन २७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।