INSEC Online

📅 २०८३ जेष्ठ २१

हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएको घटनाको आयोगद्वारा स्थलगत अनुसन्धान

राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयद्वारा बाह्रविसे स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिको उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको घटनाको ०७८ साउन २५ गतेबाट स्थलगत अनुसन्धान सुरु गरेको छ ।

आयोगका बागमती प्रदेश प्रमुख यज्ञ अधिकारी र आयोगका अनुसन्धान अधिकृत लोकनाथ घिमिरे स्थलगत अनुसन्धानमा संलग्न रहनु भएको छ ।

प्रहरीले साउन १८ गते बेलुका गिरफ्तार गरी हिरासतमा राखिएका बाह्रविसे नपा–७ का ३२ वर्षीय खड्गबहादुर तामाङको उपचारको लागि धुलिखेल अस्पताल लैजादै गर्दा ०७८ साउन २२ गते अस्पताल नपुर्‍याउँदै बाटोमा मृत्यु भएको थियो ।

तामाङको प्रहरीको कुटपिट र यातनाबाट मृत्यु भएको भन्ने पीडितपक्षको आरोप छ । मृतकका बावु कामी तामाङ र दिदी निरमायाँ तामाङले घटनाको छानबिन गर्न भन्दै साउन २४ गते राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेशमा उजुरी दिनु भएको थियो ।

अनुसन्धानमा संलग्न टोलीले पीडितपक्ष, प्रत्यक्षदर्शी, प्रहरीका विभिन्न निकाय, पीडितको उपचारमा संलग्न चिकित्सक तथा स्थानीय जनतासँग सोधपुछ तथा लिखित बयान लिई अनुसन्धान अगाडि बढाइएको अनुसन्धान टोली प्रमुख यज्ञ अधिकारीले बताउनु भयो ।

प्रहरीको कुटपिटबाट आफन्तको मृत्यु भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग राखी पीडितपक्षले साउन २४ गते बाह्रविसे बजारमा बिरोध र्‍याली गरेको पीडितका आफन्त डिबी तामाङले बताउनु भयो ।

पोष्टमार्टमको लागि शव साउन २३ गते नै त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिए पनि पीडित पक्षको विरोधका कारण हुन सकेको थिएन । तामाङको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिवद्धतापछि साउन २६ गते शवको पोष्टमार्टम गरिएको बाह्रविसे नगरपालिका उपप्रमुख शुसीला पाख्रिनले बताउनु भयो ।

अन्य

भिडियो