INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा रहेका व्यक्तिको उपचारको क्रममा मृत्यु

इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा रहेका बाह्रविसे नगरपालिका–७ घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तामाङको ०७८ साउन २२ गते बिहान उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो ।

तामाङलाई चोरीको आरोपमा प्रहरीले साउन १८ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । तामाङलाई प्रहरी हिरासतमा दिएको यातनाबाट मृत्यु भएको पीडितपक्षको आरोप छ ।

मृतकले अत्याधिक मादक पर्दाथ सेवन गर्ने गरेकोले प्रहरी हिरासतमा मादक पदार्थ सेवन गर्न नपाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

प्रहरीले गिरफ्तार गर्नु अघि अत्याधिक मादक पर्दाथ सेवन गर्ने व्यक्ति भएकोले बिरामी भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्रबहादुर शाहले बताउनु भयो ।

साउन २१ गते दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचारको लागि ल्याउँदा आफूले लुगा फुकालेर शरीर नहेरेको, तर हातको औलाहरूमा निलडाम र घाउ भएको प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक अनुपमा थापाले बताउनु भयो ।

चिकित्सक थापाका अनुसार तामाङको स्वास्थ्य अवस्था गम्भीर भएकाले थप उपचारको लागि धुलिखेल रिफर गरिएको हो ।

पीडित तामाङलाई प्रहरीले उपचारको लागि साउन २२ गते बिहान धुलिखेल अस्पताल लगेको थियो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत्यु घोषित गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बस्नेतले बताउनु भयो ।

शवको पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्तले कसरी मृत्यु भयो भन्ने कुराको आधिकारीक जानकारी नभएसम्म पोष्टमार्टम गर्न नमानेको बाह्रविसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताउनु भयो ।

अन्य

भिडियो