INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षणका लागि नागरिक समाजसँगको सहकार्य अपरिहार्य : एसपी थापा

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले मानव अधिकारको संरक्षणका लागि नागरिक समाजसँग सुरक्षा निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा साउन २१ गते नागरिक समाजका प्रतिनिधिहरूकोसँगको भेटमा एसपी थापाले प्रहरी एक्लैले मात्रै मानव अधिकारको संरक्षण सम्भव नभएको बताउँदै नागरिक समाजसँगको समन्वय र सहकार्यको खाँचो औल्याउनुभयो ।

उहाँले महिला तथा बालबालिका माथि हुने हिंसाका घटनाहरू बढ्दो क्रममा रहेको बताउँदैं त्यसको न्यूनिकरणका लागि प्रहरी र नागरिक समाज लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बरालले कोभिड–१९ का कारण धेरै नागरिकहरूको अधिकार हनन भइरहेको अवस्थामा सुरक्षा निकायले आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

उहाँले मुलुकमा बढिरहेको महिला तथा बालबालिका हिंसा साथै अन्य अपराधका घटनालाई न्यूनिकरण गर्न नागरिक समाजले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गैसस गण्डकी अध्यक्ष बिना सिलवालले हिंसा पीडित महिला तथा बालबालिकाहरूको मनोसामाजिक समस्याहरूमा आफू र आफ्नो संस्था कोपिला नेपालले सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नागरिक सङ्घ संस्थाहरूले विभिन्न अभियान मार्फत मानव अधिकारको संरक्षण र सम्र्बद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनुभयो ।

photo20210806kaski

मानव अधिकार एलाइन्स कास्की अध्यक्ष तथा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेलले अहिले पनि सडकमा बालबालिकाहरू देखिरहेको बताउँदै त्यस्ता बालबालिकाहरू आफूहरूले संरक्षण गर्दै आइरहेको जानकारी दिनुभयो ।

उहाँले प्रहरीले त्यस्ता बालबालिका भेटेमा आफ्नो संस्थासँग समन्वय गर्न अनुरोध गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिविन नेपालका शंकर नेपालीले बाल हेल्पलाइनमा जोखिममा परेका बालबालिकाहरूको घटना अघिक आउने गरेको बताउँदै त्यस्ता बालबालिकालाई आफ्नो संस्थाले संरक्षण प्रदान गर्दै आइरहेको बताउनुभयो ।

उहाँले जोखिममा रहेका बालबालिकाको उद्धारका सवालमा प्रहरी र सिविनको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खुकुरेलले पछिल्लो समयमा कास्की लगायत सम्रग गण्डकी प्रदेशमा महिला तथा बालबालिका माथि हुने हिंसाका घटनामा बृद्धि भएको अभिलेख इन्सेकले गरेको जानकारी दिनुभयो ।

उहाँले पीडितहरू न्यायका लागि प्रहरी कार्यालयसम्म आउँदा सहज रूपमा उजुरी वा जाहेरी ग्रहण गर्ने अवस्था सिर्जना हुनुपर्ने बताउनुभयो ।

कोभिड–१९ का कारण घरेलु हिंसाका घटनाहरू बढिरहेको अवस्थामा यस्ता घटना न्यूनिकरणका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउँदैं नागिरक संस्थाले आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अन्य

भिडियो