INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा कार्यालयको परिसरभित्र वडाध्यक्षद्वारा डोरीले बाँधेर युवामाथि कुटपिट

जुनीचाँदे गाउँपालिका–२ का २२ वर्षीय सर्पे दमाईलाई मदिरा सेवन गरी हल्ला गरेको भन्दै साउन १५ गते सोही वडाका अध्यक्ष ३८ वर्षीय रामबहादुर नेपालीले वडा कार्यालय परिसरमा डोरीले बाँधेर कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँडिरहेको अवस्थामा हल्ला गरेको भन्दै अध्यक्ष नेपालीले कुटपिट गरेको भिडियो साउन १९ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

जनप्रतिनिधिले युवामाथि अमानवीय रूपमा कुटपिट गर्नु गलत भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।

वडाध्यक्ष नेपालीले युवालाई कुटपिट गरेर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पञ्चालामा कार्यरत प्रहरी टोली घटनास्थलमा आएर युवकलाई बाँधिएको डोरी फुकाएर सम्झाइबुझाइ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर खुमानन्द पाण्डेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

प्रहरी टोली घटनास्थल पुगेपछि साउन १५ गते नै दुवै पक्षलाई राखेर आगामी दिनमा मदिरा खाएर होहल्ला नगर्ने सर्तमा कागज गराई पीडितलाई आमा चन्द्रा दमाईको जिम्मामा घर पठाएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा पीडितले हालसम्म उजुरी नदिएको तर अमानवीय व्यवहार गरेको भिडियो देखेपछि थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पठाइएको इन्स्पेक्टर पाण्डेले जानकारी दिनुभयो ।

पीडितले सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालयमा आएका करिब २ सय जना नागरिकलाई अश्लिल शब्द बोल्नुको साथै ढुङ्गा प्रहार गर्न थालेपछि आफूले नियन्त्रणमा लिई सम्झाइबुझाइ गरेको वडा अध्यक्ष नेपालीले विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।

भिडियोलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुको साथै प्रकाशित समाचारहरूप्रति अध्यक्ष नेपालीले आपत्ति जनाउँदै साउन १९ गते ध्यानाकर्षण सहितको विज्ञप्ति प्रकाशित गर्दै आफूले गलत नगरेको दावी गर्नु भएको छ ।

20210804 Sarpe Jajarkot 2

20210804 Sarpe Jajarkot 1

20210804Jajarkot 2

20210804Jajarkot 1

अन्य

भिडियो