INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीको मृत्यु भएपछि आफन्तद्वारा अस्पताल तोडफोड, कर्मचारी र सुरक्षा गार्डमाथि कुटपिट

धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको उपचारका क्रममा साउन १८ गते मृत्यु भएपछि बिरामीका आफन्तले उपचारमा लापरबाही गरेको आरोपमा विराटनगर महानगरपालिका–७ स्थित गोल्डेन अस्पताल तोडफोड गर्नुका साथै कर्मचारी र सुरक्षा गार्डलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उपचारमा लापरबाही भएको भन्दै २५-३० जनाको समूहका आएकाहरूले अस्पताल तोडफोड गर्नुका साथै सुरक्षा गार्ड र कर्मचारीलाई कुटपिट गरेको गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष महेताले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । काउण्टर र झ्याल तोडफोड गर्नेहरूले विराटनगर महानगरपालिका–६ का ३० वर्षीय सुरक्षा गार्ड निलम थापालाई कुटपिट गरेको अधिकृत मेहताले बताउनु भयो । सोही क्रममा अस्पतालका २५ र २७ वर्षीय कर्मचारीले सम्झाउने क्रममा उनीहरूमाथि कुटपिट भएको मेहताले बताउनु भयो ।

बिरामीका आफन्तहरूले अस्पतालका २५ र २७ वर्षीय कर्मचारीलाई कुटपिट गरेको भएपनि उहाँहरूको परिचय गोप्य राखिएको अस्पतालका प्रशासकीय अधिकृत मेहताले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । अस्पताल तोडफोड तथा सुरक्षा गार्डसहित कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई साउन १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । मधुमेह र न्यून रक्तचापका बिरामी अहमद हुसेनमा मलद्धारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निश्कृय हुँदा ‘मल्टिपल अर्ग्यान फेलर’ भएर बिरामीको मृत्यु भएको चिकित्सकको भनाइ छ ।

शव बुझ्न कोही पनि आफन्त नआएको अस्पतालका प्रशासकीय अधिृकत मेहताले बताउनु भयो । मृतकका आफन्तले शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनु पर्ने माग गरेका छन् ।

Photo 20210308 Mormag

अन्य

भिडियो