जोखिम भत्ता माग गर्दै आएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरूले साउन १८ गते विरोध जनाउने क्रममा समयमै आफ्ना माग सम्बोधन नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनिहरूले कोभिड–१९ माहामारीमा काम गरे वापतको जोखिम भत्ता समयमै उपलब्ध नगराइए आन्दोलन अघि बढाउने चेतावनी दिएका हुन् ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको कार्यकक्षमा साउन १७ गते आफूहरूका मागहरूको सम्बन्धमा छलफल भइरहेको बेला प्रहरीले बल प्रयोग गर्दा चार जना स्वास्थ्यकर्मी/कर्मचारीहरू घाइते भएको घटनाको विरोध जनाउने क्रममा उनीहरूले सो चेतावनी दिएका हुन् ।
प्रहरीले बल प्रयोग गर्ने क्रममा घाइते हुनेहरूमा ३४ वर्षीया गङ्गादेवी दङ्गाल, ३४ अस्मिता थपलिया, ३५ वर्षीया निर्मला महतो र ४५ वर्षीया गोमा सुवेदी रहेका छन् । उनीहरूको सोही अस्पतालमा सामान्य उपचार गरिएको छ ।
अस्पताल प्रशासनको सामान्यमा भएको छलफलका क्रममा प्रशासकीय अधिकृत डाक्टर गौतमले प्रहरी बोलाई बल प्रयोग गरिएको पीडित स्वास्थ्यकर्मी गङ्गादेवी दङ्गालले बताउनुभयो । आफूहरूलाई प्रहरीले हातपाात गर्नुका साथै बुट प्रहार गरेको पीडित दङ्गालले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले गत कात्तिकदेखिको रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको गुनासो गर्दै आएका छन् । सरकारले कोभिड माहामारीमा खटिएका सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई जोखिम भक्ता दिने निर्णय यस अघि नै गरिसकेको भए तापनि वीर अस्पतालमा सो निर्णय हालसम्म लागु भएको छैन ।
सरकारले कोभिड–१९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डाक्टर गौतमलाई जेठ १० गते प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो । तर त्यसपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् ।
यसैबीच आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डाक्टर गौतमलाई प्रमुख प्रशासकीय अधिकृतबाट हटाई डाक्टर रुद्र मरासिनीलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको छ ।