अन्नपूर्ण पोष्ट दैनिकका सम्बाददाता विजलपुरा गाविस-९ का २४ वर्षीय राजकरण महतोलाई फागुन ९ गते वर्दिवास स्थित राजस्व अनुसन्धानका कर्मचारी पहल केसीले क्यामरा खोसेर दुर्व्यवहार गरेका छन् ।
‘नसोधिकन कार्यालयको सवारीको फोटो किन खिचेको?’ भन्दै राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया चेक पोष्ट बर्दिबासका नायब सुब्बा केसीले आफ्नो क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडितले आरोप लगाए ।
बालुवा लिएर पूर्वबाट पश्चिम आइरहेको एक ट्रयाक्टरको चालकलाई वील चेक जाँच किन नगराएको र किन नकाटेको भन्दै बा १ झ ९१३१ नम्बरको साइनबोर्ड जडित कार्यालयको सवारीका चालकले बर्दिबास चोकमा हप्काउँदै गर्दा पत्रकार महतोले अनुसन्धान कार्यालयको गाडी र गाडी चालकको फोटो खिचेका थिए ।
पत्रकारको सञ्चार सामग्री खोसेको भन्दै नेपाल पत्रकार महासङ्घ महोत्तरीले एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भत्सर्ना गरेको छ । पत्रकार महासङ्घ महोत्तरीका सचिव विक्रमप्रसाद रौनियारले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दोषीलाई कारबाही गर्ने आश्वासन दिएको पीडित पत्रकार महतोले जानकारी दिएका छन् ।