INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवन निर्माणका मजदुरले ज्याला नपाएको गुनासो

बागचौर नगरपालिका-९ कुइयापानी स्थित सुर्य आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गरेका ७ जना मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।

विद्यालयको दुई कोठे भवन निर्माणमा काम गरे बापत आफूहरूले ७५ दिनको ज्याला नपाएको ४८ वर्षीय मजदुर नरबहादुर डाँगीले बताउनुभयो ।

‘काम गर्ने बेला रासन समेत आफ्नै पैसाले खरिद गरियो, अहिले पैंसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउँछ । विव्यसले निमार्ण समितिलाई देखाएर आनाकानी भइरहेको छ’ डाँगीले भन्नुभयो ।

भवनमा काम गराउँदा दैनिक एक हजार दिने सहमति अनुसार प्रत्येकले ७५ हजार रकम पाउनु पर्ने उहाँको भनाइ छ ।

यस्तै दैनिक १२ सयका दरले मिस्त्री काम गरेका ४४ वर्षीय केशर बहादुर डाँगीले पटक पटक ज्याला माग्न जाँदा पनि कुनै वास्ता नगरेपछि साउन १२ गतेदेखि नव निर्मित भवनमा तालाबन्दी गरेको बताउनुभयो ।

इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उहाँले भन्नुभयो ‘ज्याला नपाउँदासम्म हामीले सामुहिक रूपमा विद्यालयमा तालाबन्दी गरेका छौं ।’

पूर्वाधार कार्यालय सल्यानबाट १५ लाखको बजेटमा निर्माण भएको भवनको लागि १२ लाख ३ हजार मात्र भुक्तानी भएको निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगी बताउनुहुन्छ ।

डाँगीले थप्नुभयो, ‘विव्यस अध्यक्षले मेरो पनि पैंसा परेको छ भन्दै चार लाख रकम निकालेर लिनुभयो, उहाँले पैसा लगेपछि मजदुरलाई मैले कहाँबाट पैसा दिने ?’

पूर्वाधार कार्यालयले निर्माण समितिको खातामा रकम हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिबहादुर भण्डारीले बताउनुभयो ।

रकम विद्यालयको खातामा नभइ निर्माण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाख बराबरको काम गरेको भनेपनि गुणस्तरिय काम नभएको भन्दै १२ लाख मात्र भुक्तानी भएपछि समस्या भएको उहाँ भनाइ छ ।

अन्य

भिडियो