नेपाल प्रहरी र माइती नेपाल वीरगंज आवधिक गृहको संयुक्त टोलीले भारतमा आर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइएका एक जना बालिका र तीन जना युवतीलाई उद्धार गरी साउन ११ गते नेपाल फर्काइएको छ ।
वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलबाट करिब २५ किलोमिटर दक्षिणपूर्वमा रहेको सहर छौडा दानोबाट उनीहरूको उद्धार गरी ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालका अनुसार उद्धार गरी ल्याइएकामध्ये एक जना सुनसरी र तीन जना झापाका हुन् ।
जसमध्ये एक जना १६ वर्षीय बालिका र बाँकी तीन जना १९–२० वर्षीया उमेर समूहका छन् । सोधपुछको क्रममा चार जना युवतीमध्ये एक जना पहिलेदेखि नै भारतमा आर्केस्ट्रामा नृत्य गर्दै आएकी थिइन् ।
उनले नै दुई जनालाई आकर्षक रकम पाइने बताउँदै भारत लगेको खुलेको प्रहरीले जनाएको छ । बारा जिल्लाको कवही नाका हुँदै उनीहरू ०७८ साउन ५ गते भारत प्रवेश गरेका थिए ।
माइती नेपाल वीरगंज आवधिक गृह प्रमुख सङ्गीता पुरीका अनुसार उद्धार गरिएकाहरूलाई आउँदो अगस्ट १ तारेखमा एक बर्थ डे कार्यक्रममा नृत्य गर्नका लागि तयार गरिँदै थियो ।
उनीहरूलाई दैनिक भारतीय १ हजार ५ सय रुपियाँ पारिश्रमिक दिने बताइएको थियो । उनीहरू आबद्ध आर्केस्ट्रा समूह एक बङ्गाली महिलाले सञ्चालन गरिरहेकी छन् ।