INSEC Online

📅 २०८३ जेष्ठ २१

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कर्ण र देवकोटालाई

राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा अविचलित रही योगदान पुर्याउनु हुने खडक नपा–८ की रुबी कर्ण र दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय राजविराज नपा–७ की अनीता देवकोटालाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन ३ गते राजविराजमा सम्पन्न बैठकले २०७७ का लागि कर्ण र २०७८ का लागि देवकोटालाई सम्मानित गर्ने निर्णय गरेको कोषका सदस्य सप्तरी जिल्ला अदालत बार एकाईका अध्यक्ष डोमन साहले जानकारी दिनु भयो ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण पुरस्कार वितरण कार्य स्थगन गर्नुपरेकोमा यस वर्ष दुवै वर्षका लागि सम्मानित गर्न लागिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औँ प्रकाश मानव अधिकार पुरस्कार बाट सम्मानित राजविराज नपा–७ का वैद्यनाथ झाले प्राप्त गर्नु भएको नगद ५१ हजार रुपियाँबाट स्थापना गरिएको कोषमा झाकी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउनु भएको सामाजिक सुरक्षा वापतको ५० हजार रुपियाँ जम्मा गरी कोषको रकम १ लाख १ हजार रुपियाँ पुगेको छ ।

कोषको राशीमा बृद्धि भएपछि पुरस्कारबापत दिइने रकममा २ हजार थप गरी ५ हजार १ सय रुपियाँ पुर्‍याइएको कोषका संस्थापक वैद्यनाथ झाले बताउनु भयो ।

यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ । पुरस्कारस्वरुप नगद रुपियाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिने छ ।

यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियानी सुरुङ्गा नगरपालिकाको मधुपटी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातीको आन्दोलनको अभिन्न अंगको रुपमा स्थापित छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक सम्मानित हुनु भएको थियो ।

यसैगरी २०७५ सालमा गरिब भूमिहीन, सुकुम्बासी र दलित उत्पीडनविरुद्ध कटिबद्ध भई सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा तथा २०७६ सालमा आधारभूत तहका जनता र पीडितहरुको न्यायका लागि मानव अधिकार रक्षकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधिकारकर्मी, पत्रकार एवम सामाजिक कार्यकर्ताका रुपमा कलम चलाउन र वकालत गर्न सक्रिय राजविराज नपा–६ का मनोहरकुमार पोखरेल सम्मानित हुनु भएको थियो ।

अन्य

भिडियो