साउन १ गते २ हजार ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६४ हजार ५ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । साउन १ गते २० वर्ष मुनिका २ सय ११ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ६ सय १३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख २८ हजार २ सय ४३ जना निको भएका छन् । साउन १ गते १ हजार ७ सय ७५ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १ गतेसम्म ९ हजार ५ सय ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १ गते ४३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार १० रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहाले असार ३१ गते एक सूचना जारी गरी असार ३१ गते राति १२ बजेदेखि लागु हुने गरी साउन मसान्तसम्म निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा असार ३० गते बसेको बैठकले निषेध आदेश थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना गरी साउन मसान्तसम्म गर्न पाइने र गर्न नपाइने कार्यको सूचिका आधारमा निषेध आदेश थप गरिएको छ । हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान, जुलुस, र्याली नगर्ने नगराउने तर निधो भइसकेको विवाह र धार्मिक सांस्कृतिक नृत्य स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा अवलम्बन गरी मात्र १० जनामा नबढ्ने गरी घरमै विधि पुर्याइ सम्पन्न गर्न, डिजे बाजा नबजाउने र ध्वनी प्रदुषण नगर्ने र भौतिक उपस्थितिमा शिक्षण कक्षा वा परीक्षा सञ्चालनमा रोक लगाएकोमा त्यसलाई निरन्तरता दिने र पछि छुट्टै निर्देशन प्राप्त भएमा सोही अनुसार गर्ने विषयमा सूचना प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो । साथै जिल्लाभर मात्र सञ्चालन हुने गरी स्वास्थ्य मापदण्डलाई प्रथमिकतामा राखि सार्वजनिक सवारी साधन सिट क्षमता भन्दा बढी नबढाइ सञ्चालन गर्न दिएको सूचनामार्फत अनुरोध गरिएको छ । सो अनुरुप नभएमा सङ्क्रमण रोग ऐन, २०२० एवम् कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा जारी निषेध आदेश साउन १ गतेबाट एक साताका लागि थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेध आदेशलाई साउन ७ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिनुभयो । थप गरिएको निषेध आदेशमा सिट क्षमता भन्दाबढी नहुने गरी जिल्ला भित्र निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ । खाद्य सामग्री तथा पशुपन्छीका दाना, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प, होटल, चिया खाजा, रेष्टुरेन्ट, निर्माण सामग्री, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस, दुध डेरी, वर्कसप लगायत पसल स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी बिहान पाँच बजेदेखि साँझ सात बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैङ्क, सहकारी तथा वित्तिय संस्था बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुन पाउने छन् ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा जारी निषेध आदेश १० दिनका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को असार ३१ गते बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै आगामी १० दिनका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणको दर कायमै रहेकाले जिल्लाभर निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । निषेध आदेश जारी अवधिमा सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर मात्र पसल, व्यापार, होटल, रेष्टुरेन्ट लगायत अन्य सबै व्यवसाय साँझ बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार राष्ट्रिय मानव अधिकार आयोगले साउन १ गते एक विज्ञप्ति प्रकाशन गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलगायत अन्य सम्बन्धित निकायहरूलाई पत्राचार गरेको जनाएको छ । साथै विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरको अवस्थामा पनि कतार, साउदी अरब लगायतका नेपाली आप्रवासी श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरूमा नेपाली श्रमिकहरूलाई आर्थिक व्ययभार बढ्ने देखिएको उल्लेख छ । ती मुलुकहरूमा कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप नलगाई प्रवेश गरेका नेपाली श्रमिकहरूलाई तोकिएको समय अनिवार्य क्वारेण्टिन बस्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्था रहेको आयोगले उल्लेख गरेको छ ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोभिड—१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको असार ३१ गते बसेको बैठकले निषेध आदेश साउन ११ गतेसम्मका लागि गरेको छ । थप गरिएको अवधिमा सबै पसलहरू बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने, सार्वजनिक तथा निजी सावरी साधान स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने गरी निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ साउन १ गतेसम्म १७ हजार ३ सय ४४ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।