लोहरपट्टी नपा–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको ट्याङ्कीमा असार २७ गते बिहान फेला परेको प्रहरीले जनाएको छ । जेठ २० गतेदेखि सम्पर्कविहीन बनेकी सुजिताको शव फेला परेको हो ।
शौचालयको ट्याङ्कीमा शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन् गर्दा सुजिताको शरीरका केही अवशेष फेला परेको थियो ।
सुजिताको हत्या आरोपमा प्रहरीले २९ वर्षीय पति मुकेश ठाकुर र २७ वर्षीय देवर रूपेश ठाकुरलाई असार १३ गते गिरफ्तार गरेको थियो । घटनामा अन्य ६ जनाको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।
सुजिताको हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी असार २१ गते दर्ता गरिएको थियो ।
यो घटनाको सूक्ष्म अनुसन्धानका लागि इन्सेक महोत्तरी प्रतिनिधि, अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज रायले निरन्तर दबाब दिँदै आएका थिए ।
प्रदेश २ प्रहरीका डिएसपी ज्ञानकुमार महतो, सङ्घीय प्रहरीका डिएसपी छेदीलाल कामती, टेक्निकल सपोर्टमा असई विशंभर नाथको संयुक्त प्रयासमा सुजिताको शव खोजी गर्न सफल भएको प्रहरीले जनायो ।
सुजिताको शवको खोजतलास लगभग एक महिनादेखि भइरहँदा प्रहरीले असार १३ गते सुजिताको परिवारको खेतमा उत्खनन् गरेर गहिरो खाडल खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भए पनि पुरै शव भेट्टाएको थिएन ।
सुजिताको घरपरिवारले घरमै हत्या गरेर शवको टुक्राटुक्रा बनाई दुई तीन ठाउँमा गाडेको अवस्था देखिएको प्रहरीले जनाएको छ ।
सुजिताको हत्याबारे पाँच वर्षीय छोराले खुलाएपछि माइती पक्ष र सामाजिक अभियन्ताहरूको दबाबमा प्रहरीले खोजतलास सुरू गरेका थिए ।
सुजिताको पति मुकेश ठाकुर र देवर रुपेश ठाकुर गिरफ्तार गरिए पनि सुजिताका ससुरा, सासू र देवरानी भने अहिलेसम्म फरार रहेका छन् । उनीहरू भारतको विहारमा लुकेर बसेको हुनसक्ने आशङ्का गरिएको छ ।
यसैबिच असार २७ गते थप तीन जनालाई प्रहरीले अनुसन्धानको लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले जानकारी दिनु भयो ।