वीरेन्द्रनगर नपा–१० की २३ वर्षीया पार्वती बयलकोटीलाई घरेलु हिंसा गरेको आरोपमा २७ वर्षीय पति केशरबहादुर नेपालीलाई असार २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बयलकोटीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा घरेलु हिंसामा उजुरी दिए लगत्तै भारतीय सेनामा कार्यरत आरोपित नेपालीलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।
आरोपित नेपालीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो ।
आरोपित नेपाली, सासू दुर्गाकुमारी सार्की, अमाजूहरू सुशीला बिक र खगीसरा नेपालीले असार २४ गते दिउँसो सार्वजनिक स्थलमा अपशब्द बोली लात्तीमुक्का प्रहार गर्दै लछार पछार गर्नुको साथै घाँटी थिचेर हत्या गर्न खोजेको र एक वर्षअघि विवाह गरेदेखि दिनहुँजसो शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
कुटपिटबाट घाँटी तथा शरीरभरी निलडाम भएकाले पीडितको उपचार असार २५ गते वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होममा गरिएको छ ।